सिरहा — सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नगर प्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले आज दिउँसो नगर कार्यपालिकाको कार्यालयबाटै नियन्त्रणमा लिएको हो।
सूचना अनुसार साहले उपभोक्ता समितिलाई भुक्तानी प्रक्रियामा सहयोग गर्ने भन्दै एक लाख रुपैयाँ घुस लिएका थिए। घुस रकम बुझेको केही समयमै अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
हाल अख्तियार टोलीले साहलाई नगरपालिकाको कार्यालयमै राखेर सोधपुछ गरिरहेको छ। कानुनी प्रक्रिया (मुचुल्का) तयार गरी थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई अख्तियारको बर्दिबास कार्यालय लगिने बुझिएको छ।
घटनाबारे थप जानकारी सार्वजनिक भइनसकेको भए पनि नगर प्रमुख पक्राउ परेपछि कल्याणपुरमा चर्चा चलेको छ।