काठमाडौं । संघीय संसद भवनको छतमा ड्रोन खसेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले काठमाडौँस्थित टेकस्पायर कलेजका एक प्राध्यापकसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेका व्यक्तिहरूमा टेकस्पायर कलेजका प्राध्यापक तथा कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइएको छ।
प्रहरीका अनुसार यही असार २४ गते बिहान ९:३० बजे संघीय संसद भवनको दक्षिणतर्फको छतमा एक थान ड्रोन फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त ड्रोन टेकस्पायर कलेजको परिसरबाट उडाइएको देखिएको हो।
कलेजका प्रधानाध्यापक लक्ष्मण पोख्रेलले असार १३ गते लिखित रूपमा रोबोटिक्स विभागलाई सेमेस्टर कार्य अन्तर्गत ड्रोन निर्माण र परीक्षण गर्ने जिम्मा दिएको जानकारी प्रहरीलाई उपलब्ध गराएका छन्।
रोबोटिक्स विभाग प्रमुख विजयबाबु रेग्मीले ड्रोनमा प्राविधिक समस्या (टेक्निकल सपोर्ट फेल) आएर अनियन्त्रित भई संसद भवनमा खसेको प्रस्ट्याएका छन्। यस सम्बन्धमा कलेजले ड्रोन खरिदका सक्कल बिल, परीक्षणको फोटो तथा भिडियो, र ड्रोन कन्ट्रोलरसमेत प्रहरी वृत्त बानेश्वरलाई बुझाइसकेको छ।
कलेज प्रशासनले यो घटना पूर्ण रूपमा असावधानीवश घटेको बताउँदै प्रहरीलाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।