ल्हेन्दे हिमताल फुटेर रसुवामा बाढी : सुप्राग्लेशियल ताल विस्फोटको प्रारम्भिक निष्कर्ष


काठमाडौं । रसुवाको नेपाल–चीन सीमामा अवस्थित ल्हेन्दे खोलामा गत मंगलबार आएको बाढीको कारण हिमताल विष्फोट भएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले ‘सेन्टिनेल’ उपग्रहबाट प्राप्त चित्रको अध्ययनपछि सुप्राग्लेशियल ताल (हिमताल) फुटेर बाढी आएको पुष्टि गरेको हो।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, रसुवागढीस्थित सीमा क्षेत्रबाट करिब ३६ किलोमिटर उत्तरतर्फ (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, करिब ५१५० मिटरको उचाइमा) रहेको ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सुप्राग्लेशियल तालको सतहमा उल्लेखनीय परिवर्तन देखिएको हो।

“बाढी आउनु अघि र पछि उपग्रहले कैद गरेका तस्बिरको विश्लेषण गर्दा तालको क्षेत्रफल घटेको देखिन्छ,” पराजुलीले बताए, “यसले संकेत गर्छ कि ठुलो मात्रामा पानी निकास भएर तलको क्षेत्रमा प्रभाव परेको छ।”

उनका अनुसार, घटनाको थप यथार्थ विवरणका लागि चीनबाट स्थलगत अध्ययन प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ। विभागले भविष्यमा भू-उपग्रहमार्फत प्राप्त हुने तस्बिरको विश्लेषण गर्दै थप पुष्ट्याइँ गर्ने योजना बनाएको छ।

यसैबिच, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमाको ल्हेन्दे क्षेत्रमा बनेको सुप्राग्लेशियल ताल फुटेर बाढी आएको पुष्टि गरेका छन्। बाढीको प्रभाव रसुवाको भोटेकोशी नदी हुँदै तलसम्म देखिएको छ।

हालसम्मको प्रारम्भिक अध्ययनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका तालहरूमा वृद्धि भई जोखिम थपिन थालेको संकेत दिएको विज्ञहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्