काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अनुशासन समितिको पछिल्लो कारबाहीप्रति असन्तुष्टि जनाउँदै आफ्ना समूहका नेताहरूलाई बैठकमा बोलाएका छन्। पार्टीभित्र विवाद चुलिएको यो बेला कोइरालाले बिहीबार बिहान ८ बजेका लागि विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा बैठक बोलाएका हुन्।
अनुशासन समितिले हालै कारबाही गरेका १८ नेतामध्ये अधिकांश आफूपक्षीय नेताहरू रहेको भन्दै असन्तुष्ट देखिएका कोइरालाले केन्द्रीय सदस्य, सांसद, मन्त्री लगायत आफ्ना निकट नेताहरूलाई बैठकमा उपस्थित हुन भनेका छन्। कोइरालानिकट एक स्रोतका अनुसार बैठकको एजेन्डा अनुशासन समितिको कारबाहीकै विषयमा केन्द्रित रहनेछ। उनले कारबाहीप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे थप छलफल गर्न बैठक बोलाएको जनाइएको छ।
पार्टीको अनुशासन समितिले लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङका जिल्ला सभापति विष्णुकुमार राई र कास्कीका निवर्तमान सभापति कृष्ण केसी लगायत १८ नेताहरूमाथि एक वर्षदेखि तीन महिनासम्मको निष्कासनको निर्णय सार्वजनिक गरेको थियो। यी नेताहरू सबैजसो शेखर कोइराला समूहमा सक्रिय रहेका छन्।
अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले समर्थन गरेका उम्मेदवारहरूमाथि असहयोग गरिएको, सामाजिक सञ्जालमा पार्टीविरुद्ध अभिव्यक्ति दिइएको, अडिओ–भिडिओ मार्फत भ्रम फैलाइएको लगायतका प्रमाणका आधारमा कारबाही गरिएको स्पष्ट पारेका छन्। तर शेखर समूह भने यो निर्णयलाई पक्षपातपूर्ण र प्रतिशोधको भावनाबाट प्रेरित भन्दै आलोचना गरिरहेको छ।
यसअघि सम्पन्न केन्द्रीय समितिको बैठकमा समेत डा. कोइरालाले अनुशासन समितिको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष निर्णयको अभाव भएको आरोप लगाएका थिए। अब उनी नेतृत्वको समूहले कारबाही विरुद्ध रणनीति तय गर्न खोजेको संकेत बुधबारको घटनाक्रमले देखाएको छ।
काँग्रेसभित्र बहुमतको राजनीतिक ध्रुवीकरण स्पष्ट बन्दै जाँदा अनुशासन समितिको निर्णयले पार्टीलाई थप तनावतर्फ धकेलेको छ। शेखर कोइरालाले बोलाएको यो बैठक काँग्रेसको आन्तरिक शक्ति सन्तुलन, भावी रणनीति र पार्टी एकताको भविष्यका लागि निर्णायक बन्ने संकेत देखिएको छ।