त्रिशूली नदीमा प्रहरी असई र दुई चिनियाँ नागरिकको शव फेला


चितवन । रसुवाको टिमुरे खोलाबाट बाढीले बगाएका एक नेपाली प्रहरी र दुई चिनियाँ नागरिकको शव त्रिशूली नदीमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाढीपछि बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो। प्रहरीको बुटसहित भेटिएकाले उनी ड्युटीमै रहेको पुष्टि भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए।

श्रेष्ठको शव भरतपुर अस्पताल ल्याइएको छ भने उनको पहिचान उनकी श्रीमतीले गरेकी हुन्। असई श्रेष्ठ टिमुरे खोलामा ड्युटीमा खटिएका बेला बाढीले बगाएका तीन जना प्रहरीमध्ये एक हुन्।

यसैबिच, त्रिशूली नदीको धादिङ खण्डमा दुई पुरुषको शव फेला परेको छ। ती शव टिमुरे बोर्डरमा रहेको सुरई कन्स्ट्रक्सन ग्रुपमा कार्यरत चिनियाँ नागरिकका भएको खुलेको छ। बाढीपछि हराइरहेका छ जना चिनियाँमध्ये दुई जनाको शव भेटिएको प्रहरीको भनाइ छ।

दुईमध्ये एकको शव धादिङको गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित त्रिशूली नदी किनारमा र अर्को गजुरी गाउँपालिका–६ बेल्खुस्थित नदी किनारमा फेला परेको हो। स्थानीयले बिहान नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसै गरी, धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित त्रिशूली किनारमा जलाइँदै गरेको एक शव समेत बाढीले बगाएको छ। स्थानीय कुमार बस्नेतका अनुसार शवदाहको क्रममा अचानक आएको बाढीले चितासहित शव बगाएको हो।

हालैको अविरल वर्षासँगै आएको बाढीले जनधनमा क्षति पुर्‍याएको छ भने हराइरहेका अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्