लेटाङ नगरपालिकाले ल्यायो ६१ करोडको बजेट


लेटाङ । लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६१ करोड ६ लाख २८ हजार दुई सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको १७ औँ नगरसभाबाट उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गरेकी हुन ।

प्रस्तुत बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै कुल बजेटमध्ये ४२ करोड १७ लाख ६० हजार चार सय रुपैयाँ चालु खर्चतर्फ र १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ ।

भौतिक पूर्वाधारतर्फ ८ करोड ५६ लाख २५ हजार रुपैयाँ, सामाजिक विकासका क्षेत्रमा ३ करोड ४१ लाख ४२ हजार रुपैयाँ छुट्याइएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, महिला बालबालिका, जेष्ठ नागरिक, युवा तथा खेलकुद र सांस्कृतिक संरक्षण जस्ता कार्यक्रम यस अन्तर्गत पर्दछन् । आर्थिक विकासतर्फ भने ३ करोड ७ लाख एक हजार दुई सय रुपैयाँ विनियोजन गरिएको छ ।

जलस्रोत तथा सिँचाइमा ९३ लाख, पशुसेवामा ६१ लाख ४५ हजार, पर्यटन विकासमा ५४ लाख, कृषिमा ५० लाख र उद्योग विकासमा ३० लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । कार्यालय सञ्चालन र प्रशासनिक व्यवस्थापनका लागि ११ करोड २० लाख रुपैयाँ छुट्याइएको छ। जसमा स्थायी कर्मचारीको तलबभत्ता र करार सेवामा कार्यरत कर्मचारीका लागि छुट्टै बजेट विनियोजन गरिएको छ ।

वडा विकास बजेटतर्फ ९ वडाका लागि ५ करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ । वडागत बजेट वितरणमा वडा नम्बर १ सबैभन्दा अग्रस्थानमा रहेको छ । वडा नम्बर १ का लागि ६६ लाख ७७ हजार विनियोजन गरिएको छ भने सबैभन्दा कम बजेट वडा नम्बर ४ लाई ६३ लाख ८५ हजार छुट्याइएको छ । यद्यपि वडाहरूबीच बजेट अन्तर तीन लाख भित्र सीमित छ ।

बजेटमा वडा नम्बर १ लाई नगरकै विशेष प्राथमिकतामा राखिएको छ । राजारानीस्थित अन्तरधार्मिक शान्ति पार्कका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएको छ । यो हालसम्म नगरपालिकाको एउटै योजनामा छुट्याइएको सबैभन्दा ठूलो रकम हो । यसका अतिरिक्त लोखरा–लाख सडक कालोपत्रेका लागि नगरबाट ६० लाख र प्रदेशबाट ४० लाख गरी एक करोड रुपैयाँ छुट्याइएको छ। वडा नम्बर १ कै मुर्चुङ्गी खोलामा पुल निर्माणका लागि ३६ लाख र कोलबोटे खोलामा कजवे निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ। वडागत सिलिङमा पनि वडा नम्बर १ अगाडि नै छ ।

नगर गौरव योजना अन्तर्गत संघीय, प्रदेश र स्थानीय तहको साझेदारीमा विभिन्न विकास आयोजना सञ्चालन हुनेछन् । अन्तरधार्मिक शान्ति पार्क, बुद्ध मार्ग कालोपत्रे, वडा कार्यालय भवन निर्माण, पुल तथा कजवे निर्माण, तटबन्ध, सडक विस्तार, पहाडी क्षेत्रका बाटो मर्मत तथा पर्यटन पूर्वाधार निर्माण जस्ता योजनाहरू यस वर्ष बजेटमा विशेष प्राथमिकतामा परेका छन् ।

राजस्व स्रोततर्फ नगरपालिकाले आन्तरिक आम्दानीबाट २ करोड ७२ लाख ३५ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ। गत वर्ष खर्च नभएको रकमबाट २ करोड ५० लाख र विभिन्न शीर्षकमा दहत्तर बहत्तर योजना मदबाट २ करोड १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। संघीय सरकारको राजश्व बाँडफाँडबाट ११ करोड ८३ लाख २२ हजार दुई सय र प्रदेश राजश्व बाँडफाँडबाट ८५ लाख ५० हजार रुपैयाँ आउने अनुमान छ। मालपोत राजस्वबाट १ करोड २५ लाख र मनोरञ्जन करबाट १२ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ ।

संघीय र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक र विशेष अनुदान समेट्दा कूल ६१ करोड ६ लाख २८ हजार दुई सय रुपैयाँ बराबरको बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ । लेटाङ नगरपालिकाले प्रस्तुत गरेको बजेटले आगामी वर्ष नगर विकास र पूर्वाधार विस्तारमा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ । नगरसभा नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्