केराबारी गाउँपालिकाले ल्यायो ८४ करोड ८ लाख बराबरको बजेट


केराबारी । केराबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८४ करोड ८ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ। गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष मनमाया मगरले बजेट प्रस्तुत गर्दै स्थानीय सरकारको आर्थिक प्राथमिकता, चुनौती र आगामी वर्षको योजनाबद्ध कार्यदिशाको स्पष्ट खाका सार्वजनिक गरेकी हुन्।

बजेट प्रस्तुत गर्दै उनले चालु आर्थिक वर्ष २०८१/०८२ मा कुल बजेटको ५७.०८ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन्। पुँजीगत खर्चको प्रगति ४८.०८ प्रतिशत र चालु खर्चतर्फ ६६.०९ प्रतिशत रहेको विवरण उनले सभामा राखिन्। आर्थिक, सामाजिक, पूर्वाधार, प्रशासनिक तथा सुशासन क्षेत्रको खर्च विवरणसमेत प्रस्तुत गर्दै उनले आर्थिक विकासतर्फ ४८.७८ प्रतिशत, सामाजिक विकासमा ६१.७४ प्रतिशत, पूर्वाधार विकासमा ५१.०३ प्रतिशत, सुशासनमा ३७.०३ प्रतिशत र प्रशासनिक क्षेत्रमा ६८.९४ प्रतिशत खर्च भएको बताइन्।

उपाध्यक्ष मगरका अनुसार सङ्घीय सरकारबाट प्राप्त बजेटमध्ये ६५.७१ प्रतिशत र प्रदेश सरकारको तर्फबाट आएको बजेटको ३५.९६ प्रतिशत मात्र खर्च भएको छ। उनले संघ र प्रदेश सरकारबाट अनुदान ढिलो प्राप्त हुनुले बजेट कार्यान्वयनमा चुनौती सिर्जना गरेको स्पष्ट पारिन्।

गाउँपालिकाले आगामी वर्षका लागि ५१ करोड २३ लाख रुपैयाँ संघीय अनुदान तथा राजस्व बाँडफाँटबाट, ३ करोड ४८ लाख रुपैयाँ प्रदेश सरकारबाट, ८ करोड रुपैयाँ स्थानीय राजस्व र २५ करोड रुपैयाँ फिर्ती बाँकी (carry forward) रकमबाट आर्जन गर्ने लक्ष्य राखेको छ। यस्तै, सामाजिक सुरक्षा भत्ता कार्यक्रममा १४ करोड रुपैयाँ विनियोजन गरिएको छ भने आन्तरिक आम्दानीको रूपमा ४ करोड ५ लाख रुपैयाँ संकलन गरिने अनुमान गरिएको छ।

प्रस्तुत बजेटमा विकास व्यवस्थापन परियोजनाका लागि ४ करोड ७३ लाख, प्रमुख विभागीय कार्यक्रमहरूमा ३ करोड ४९ लाख २३ हजार र स्थायी योजनाहरूमा ७ करोड ३५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। सांस्कृतिक संरक्षण तथा विविधता व्यवस्थापनका लागि ६० लाख, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षणका लागि ८ लाख ५० हजार, खेलकुद प्रवर्द्धनका लागि ३० लाख, विपद् व्यवस्थापनमा ९० लाख र वैदेशिक रोजगारबाट फर्किएकाहरूका लागि स्वरोजगार सहयोग अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, गाउँपालिकाका १० वटै वडाबाट प्राप्त योजनाहरूका लागि ४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। विशेष योजनाहरूमा केराबारी-९ को देवझोडा कुस्मु सडक सुधारका लागि १ करोड, बरुवा–रेटाङ्ग लघु सडक स्तरोन्नतिको लागि ४५ लाख र गाउँपालिकाको केन्द्रको सौन्दर्यीकरणका लागि १३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेट प्रस्तुत गर्ने क्रममा उपाध्यक्ष मगरले गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि योजनाबद्ध, सहभागी र प्रभावकारी ढंगमा कार्यक्रम कार्यान्वयन गरिने विश्वास व्यक्त गरिन्। उनले संघीय र प्रदेश सरकार, स्थानीय नागरिक, करदाताहरू, विभिन्न साझेदार संस्था तथा कर्मचारीहरूलाई धन्यवाद दिँदै आगामी वर्ष योजनाहरू सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरिन्। गाउँसभा अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्