रुपन्देही । रुपन्देहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। शनिवार दिउँसो मायादेवी गाउँपालिका–७ स्थित गरगट्टी चम्रौटी टोलको मोडमा भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई विद्यार्थीले ज्यान गुमाएका हुन्।
दुर्घटनामा परी सम्मरीमाई गाउँपालिका–५ का २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका–७ का १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए।
घटनाबारे जानकारी दिँदै कार्कीले भने, “बनगाईबाट मर्चवारतर्फ जाँदै गरेको लु २ ख २०७४ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई गरगट्टी मोडमा ठक्कर दिएको हो।”
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उद्धार गरी भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर उपचारको क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन्।
टिप्पर चालक जगदीश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय आक्रोशित, सडक केही समय अवरुद्ध
दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका थिए। केही समय सडक अवरुद्ध बनेको थियो भने सुरक्षाकर्मीहरूको उपस्थितिमा अवस्था नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
मृतक दुवै जना विद्यार्थी रहेकाले स्थानीय तहमा शोकको वातावरण बनेको छ। स्थानीयवासीहरूले ज्यान जोखिममा पार्ने लापरबाही टिप्पर चालकहरूलाई कडा कारबाहीको माग समेत गरेका छन्।