काठमाडौं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनबाट डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन्। कडरियाले आफ्ना निकटतम प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्षको पद हात पारेका हुन्।
कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२५ मत ल्याए। यो निर्वाचन अनेरास्ववियुमा पछिल्लो समय देखिएको ध्रुवीकरण र आन्तरिक असहमतिको प्रतिबिम्बजस्तो देखिएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन प्राप्त आधिकारिक उम्मेदवारका रूपमा कडरिया प्रस्तुत भएका थिए भने पौडेलले अध्यक्ष मण्डलको औपचारिक प्रस्तावमा असहमति जनाउने समूहलाई समेटेर वैकल्पिक प्यानल खडा गरेका थिए।
अध्यक्ष ओलीको निर्देशनका आधारमा अध्यक्ष मण्डलका तर्फबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले हलमा डा. कडरियाको नाम अध्यक्षका लागि प्रस्ताव गर्दा त्यसकै विरुद्धमा नाराबाजी र असन्तुष्टि प्रकट भएको थियो। ढकालले उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना सिवाकोटी, महासचिवमा दीपक धामीको नाम समेत सर्वसम्मत नेतृत्व चयनको प्रस्तावमा राखे पनि कार्यकर्ताहरूबिच तीव्र विवाद उत्पन्न भयो।
अध्यक्ष मण्डलले सहमतिको पहल गरे पनि त्यो सफल नभएपछि निर्वाचन प्रक्रियामा जानु परेको हो। निर्वाचनमा संस्थापन पक्षको समर्थन पाए पनि डा. कडरिया झिनो अन्तरले मात्र विजयी हुनुले सङ्गठनभित्रको विचारधारात्मक विभाजन र असन्तोषलाई उजागर गरेको देखिन्छ।
महासचिव पदमा दीपक धामी विजयी भएका छन् भने उपमहासचिवमा कमल जोशीले जित निकाले। त्यसै गरी सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल, र ससीम बाबु खाम विजयी भएका छन्। यसले कडरियाको नेतृत्वमा गठन हुने नयाँ कार्यसमितिमा विविध क्षेत्र र समूहका प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ।
अब कडरियाको नेतृत्वमा अनेरास्ववियुलाई सङ्गठित राख्दै राजनीतिक र शैक्षिक एजेण्डालाई सशक्त रूपमा अघि बढाउनु चुनौती हुनेछ। सङ्गठनभित्र देखिएको मतभेदलाई समेट्दै अघि बढ्न सक्ने कि विभाजन अझ गहिरो बन्ने भन्ने कुराले उनको नेतृत्वको सफलतासँग प्रत्यक्ष सम्बन्ध राख्नेछ।