काठमाडौं महानगरपालिकाको पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ। काठमाडौं महानगरपालिकाले शुक्रवार तीनकुने क्षेत्रमा पुर्‍याएको क्षति विवरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो ।

महानगरले फोहोरमैला, बोट बिरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको हो । शनिवार महानगरपालिकाको टोलीले तीनकुने–कोटेश्वर–जडीबुटी क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरेको थियो ।

सङ्कलित विवरणका आधारमा नोक्सानीको खर्च र सरसफाइ शुल्क समेत शाहबाटै असुल गरिने निर्णय भएको छ।आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रवार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्