धनुषा । सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा आज (शुक्रवार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्ने भएकाले देशलाई बलियो बनाउने बताएका हुन् ।
‘अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ । त्यस कारण दुइटा पार्टी मिलेर सरकार बनेको छ । अहिले ओलीजी हुनुहुन्छ । पछि काङ्ग्रेसबाट प्रधानमन्त्री बन्ने हो । म पद ओगट्न चाहने नेता पनि होइन । धेरैपल्ट प्रधानमन्त्री भइसक्या छु । अर्को पटक पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । मैले बलियो र मजबुत नेपाल बनाउने सपना देखेको छु,’ उनले भने।
खडेरी हुने, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै गएर जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालमा समेत परेकोले नेपालका सबै राजनीतिक दल जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्ने उनको भनाइ थियो । काँग्रेस ठुलो पार्टी भए पनि बहुमत नभएको उल्लेख गर्दै एकढिक्का भएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउने समेत देउवाको दाबी छ ।