४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको उपाधि आयोजक टिम ‘ए’ ले चुम्यो


सुन्दरहरैँचा । ४औँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको उपाधि आयोजक टिम ‘ए’ ले चुमेको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित सुकुना खेल मैदानमा भएको विराट भेट्रान क्लबद्वारा आयोजित उक्त गोल्डकपको फाइनल खेलमा आयोजक टिम ‘बि’ लाई भारी गोल अन्तरले हराउँदै उपाधि हात पारेको छ ।

‘ए’ ले ‘बि’ लाई ७–१ गोलको अन्तरले पराजित गरेको हो । ‘ए’ टिमको तर्फबाट कृष्ण शाक्य र सुरज प्रधानले ह्याट्रिक गरेका छन् । खेलको पहिलो हाफमा १० मिनेटमा शाक्यले पहिलो गरे भने खेलको २१ मिनेटमा प्रधानले गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलाए । शाक्यले २४ मिनेटमा पुनः दोस्रो गोल गर्दै पहिलो हाफमा ३–० गोलको अन्तर बनाएका थिए ।

आयोजक टिम ‘ए’

पहिलो हाफमा ३ गोलको विरुद्ध कुनै गोल फर्काउन नसक्दा ‘बि’ टिमलाई दबाब सृजना भएको थियो । तर दोस्रो हाफमा पनि १ गोल मात्र फर्काउन सके । खेलको ३२ मिनेटमा ‘ए’ टिमबाट डेनी राईले गोल गरे पछि ६ मिनेटको अन्तरमा ‘बि’ टिमका खेलाडी निर्मल तामाङले उक्त गोल फर्काएका हुन । खेल ४–१ गोल अन्तरमा पुगेको थियो ।

आयोजक टिम ‘बि’

‘बि’ ले ४ को विरुद्ध १ गोल गरेता पनि २ मिनेट नपुग्दै ‘ए’ का खेलाडी प्रधानले पुनः दोस्रो गोल गरे । खेलको निर्धारित समय सकिए पछि थप भएको ३ मिनेटको इन्जुरी टाइममा पुनः तेस्रो पटक प्रधान र शाक्यले गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भएका छन् । आयोजक टिम ‘बि’ ले लज्जास्पद हार बेहोर्नु परेको छ । तर उपविजेताको स्थान भने सुनिश्चित बनाए ।

शुक्रवार भएको दुई वटा सेमिफाइनलमा आयोजक टिम ए’ ले दुधे भेट्रान झापालाई १–० गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो भने अन्तिम सेमिफाइनलमा ‘बि’ ले पूर्वेली भेट्रान बिर्तामोडलाई २–१ गोलको अन्तरले हराउँदै फाइनलको यात्रा सुनिश्चित गरेको थियो ।

विजेताले नगद पुरस्कार रु.१ लाख १ हजार १ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कार रु.५० हजार ५ सय ५५ प्राप्त गरेका छन् । खेलको मेन अफ द म्याच शाक्य घोषित भएका छन् ।

विधागत पुरस्कारमा सर्वाधिक गोलकर्ता आयोजक टिम ‘ए’ का खेलाडी सुरज प्रधान, कृष्ण शाक्य र दुधे भेट्रान झापाका खेलाडी हर्क तामाङ घोषित भएका छन् । तिन जनाले रु.२ हजार १ सय बराबरी गर्दा जनही रु.७ सय प्राप्त गरेका छन् । वेस्ट डिफेन्डर आयोजक टिम ‘ए’ का खेलाडी सरोज बस्नेत घोषित भएका छन् । उनले रु.२ हजार १ सय प्राप्त गरेका छन् ।

साथै वेस्ट मीड फिल्डर आयोजक टिम ‘बि’ का खेलाडी निरु लिम्बु, वेस्ट गोल रक्षक आयोजक टिम ‘ए’ का खेलाडी मीन बस्नेत, वेस्ट फर्वाड सुरज प्रधानले जनही रु.२ हजार १ सय प्राप्त गरेका छन् । उत्कृष्ट खेलाडी ‘ए’ टिमका डेनी राई घोषित भएका छन् । उनले रु.३ हजार १ सय प्राप्त गरेका छन् । उत्कृष्ट प्रशिक्षक भिम प्रकाश लिम्बु घोषित भएका छन् । उनले रु.२ हजार १ सय प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्