कानेपोखरी । कानेपोखरी गाउँपालिकाले फेरी घर नभएका विपन्न परिवारको लागि घर निर्माण कार्य सुरु गरेको छ । कानेपोखरी वडा नं.२ स्थित प्रधान टोलमा बाल विकासको भवनसहित ६ परिवारको लागि घर निर्माण कार्य सुरु भएको हो ।
शुक्रवार नागरिक जनता आवास कार्यक्रम अन्तरगतको घर निर्माण कार्यको शिलान्यास गरिएको छ । ६७ लाखमा खुलेको ठेक्कामा उक्त निर्माण कार्यको जिम्मेवारी यस आर्थिक वर्ष भित्र सम्पन्न गर्ने गरी ६१ लाखमा काली कोशी रियलस्टेट कम्पनीले सम्झौता गरी निर्माण कार्य सुरु भएको हो ।
यस अघि सोही स्थानमा गाउँपालिकाले खरिद गरेको १ बिघा १ कट्ठा १२ धुर जग्गामा ३२ परिवारको लागि घर निर्माण गरी बसोबासको व्यवस्थापन गरिएको छ । कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामका अनुसार पालिका भित्र वडा नं. १, २, ३ र ४ मा गरेर करिब ७० परिवारलाई घर निर्माण गरी व्यवस्थापन गरिएको छ ।
यस अघि निर्माण भएको घरमा बस्न पाएका स्थानीयहरू खुसी हुँदै गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दा छन् । प्रधान टोलको उक्त बस्तीमा बस्ने वृद्ध भगवती राजवंशी भन्छिन्, ‘घर पाए खुसी छु । घर राम्रो छ । पहिले आफ्नो घरमा बस्दा पानी पर्दा भित्र छिर्थ्यो । हावाहुरी आउँदा घरनै उठाएर लग्छ की भन्ने डर हुन्थ्यो । तर अहिले सुरक्षित बस्न पाएको छु । अब बिजुलीको मिटर र आय आर्जनको लागि केही काम पाए हुन्थ्यो भन्ने आशा छ ।’
सोही जग्गामा बाल विकासको भवनसहित ६ परिवारको लागि प्रदेश सरकारको रु.५० लाखको सहयोगसहित पालिकाको थप रकम गरी करिब ६१ लाखमा संरचना निर्माण हुँदै गरेको हो । आधारभूत जनतालाई स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउने उद्देश्यसहित घरविहीन परिवारहरूको लागि नमुना बस्तीको निर्माण कार्य निरन्तर भइरहेको गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी बताउँछन् ।
अधिकारीका अनुसार जो कोहीले अवलोकन गर्दा अनुसरण गर्ने खालको नमुना बस्तीको विकासको लागि आवास निर्माण कार्यसँगै खानेपानी, विद्यालय, बाटो, ढल लगायतको आवश्यक संरचना निर्माण कार्य गर्ने तयारी पनि रहेको छ । पालिका भित्र घर विहीन भएका नागरिकलाई बास बस्ने कुनै विकल्प नभएकाहरूलाई, उक्त बस्तीमा ल्याएर सुरक्षा दिने कार्य गाउँपालिकाले गरिरहेको अधिकारी बताउँछन् ।
संविधानको मूल कुरालाई अक्षरशः पालना गर्ने कोसिस गरेको कानेपोखरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का अध्यक्ष सुशील बुढाथोकी बताउँछन् । बुढाथोकी भन्छन्, ‘घर विहीन नागरिकलाई सुरक्षित आवासको व्यवस्थापन गर्नु पर्ने सरकारको जिम्मेवारी हो भने जनताहरूको संविधान प्रदत्त अधिकार हो । त्यही कुरालाई कानेपोखरी गाउँपालिकाले अनुसरण गरेको हो ।’
एक सामान्य परिवारलाई आवश्यक जग्गा किनेर घर बनाउन जीवनभर सङ्घर्ष गर्नु पर्छ । धेरैको त्यो सपना पनि अधुरो नै रहने गर्छ । तर कानेपोखरी गाउँपालिकाले आफ्नो गाउँवासीको लागि घर नभएकाहरूलाई सुरक्षित आवास निर्माण गर्दिएर खुसी मात्र दिएका छैनन् सिङ्गो जीवन स्तर नै परिवर्तन गर्दिँदै छ । आवाससँगै सामाजिक सचेतना प्रदान गर्दै समृद्ध, शिक्षित परिवारसहितको बस्ती निर्माण कार्य तर्फ गाउँपालिका अग्रसर छ ।