विराट भेट्रान अन्तर्राष्ट्रिय गाेल्डकपको उद्घाटन खेलमा झापा विजयी : आज आयोजक बि. र उर्लाबारी भिड्दै


मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गोलका विरुद्ध ६ गोलको अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरुवात गरेको छ । नगरको सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयोजित प्रतियोगितामा सिक्किम (भारत) लाई पछि पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो ।

कडा प्रतिस्पर्धा पूर्ण खेलमा झापाको तर्फबाट जर्सी न. ७ का खेलाडी हर्क तामाङले सानदार रूपमा एक्लै चार गोल गर्न सफल भए । उनले पहिलो हाफको २२ मिनेट, दोस्रो हाफको ५ , १६ र ३० मिनेट पछिको अतिरिक्त समयमा गोल गरी टिमलाई अघि बढाएका थिए । साथै झापाको तर्फबाट सुवास लिम्बूले खेलको २८ औ मिनेट तथा बलबहादुर लिम्बूले दोस्रो हाफको ३० औ मिनेटमा जाली चुमाउँदै टिमको जित भारी गोलका साथमा निश्चित गराएका थिए । साथै सिक्किम भारतका खेलाडी रमेश क्षत्रीले दोस्रो हाफको २८ औ मिनेटमा गोल गरेर आफ्नो टिमलाई शून्य गोल हुनबाट जोगाएका थिए ।

उपयुक्त सिपबाट जवाफी गोल फर्काउन नसक्दा पाहुना टोली भारत विदेशी मैदानमा पहिलो उद्घाटन खेलबाटै बाहिरिन बाध्य भयो । उसले बिदाइको हात हल्लाउँदै घर तर्फ फर्कियो । मध्यान्तरपछि अझ सुधारिएको प्रदर्शनमा झापाले आफ्नो पक्षमा थप नजिता निकाल्न सफल भएको थियो । स्वदेशी तथा विदेशी खेलाडीले भरिपूर्ण दुवै टिमको रोचक प्रतिस्पर्धामा स्वदेशी टोली झापाले पाहुना टोली सिक्किमलाई खेल अवधि भरि कडा दबाबमा राखेको थियो । माघ महिनाको चिसो मौसमको प्रवाह नगरी खेलाडीले देखाएको खेलको कौशलले सुन्दरहरैँचाकाे माहाेल फुटबलमय बनेर तातेको थियो ।

भारतले धेरै पटक गोल लगाउने सुनौलो अवसर पाए पनि खेलाडी बिचको उपयुक्त तालमेल नमिल्दा सेमिफाइनलको अवसरबाट पछि परेको हो । खेलको म्यान अफ दी म्याच झापा जर्सी न. ७ का खेलाडी हर्क तामाङ घोषित भए। उनले नगद पुरस्कार पाए। आगामी माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश वटा टिमको सहभागिता रहेको छ ।

गाेल्डकप प्रतियोगितामा एन.आर .सि भेट्रान सिक्किम (भारत) , दुधे भेट्रान झापा , मिल्स भेट्रान विराटनगर , हाम्रो धरान भेट्रान सुनसरी , विराट भेट्रान आयोजकको सहभागिता रहेको छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत , राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापा लगायत गोल्डकपकाे खेल मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।

अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरेका थिए । उनले प्रतियोगिता सुन्दरहरैँचाको गौरव भयकोले गाेल्डकपलाई नगरले समेत सकारात्मक रूपमा हेरेको उल्लेख गर्दै खेल र खेलाडीको सम्मानका लागि सम्बन्धित सबैले ध्यान दिनु पर्ने बताए । प्रतियोगिताको उपाधि भने गत वर्षमा सशस्त्र प्रहरी बल एपीएफ काठमाडौँले उचालेको थियो । राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो ।

प्रतियोगिता सञ्चालनका लागि सुन्दरहरैँचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल सङ्घ मोरङ सहयोगकर्ता रहेको छ। प्रतियोगिताको विजेता टिमले रु १ लाख तथा उपविजेताले रु ५० हजार नगदका साथमा ट्रफि र प्रमाणपत्र पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए । आयोजक गाेल्डकपका आर्थिक संयोजक दुर्गाकुमार श्रेष्ठले स्वास्थ्य तथा राष्ट्रका लागि खेलकुद आवश्यक हुने हुँदा प्रतियोगिता सञ्चालनका लागि रु १० लाख ७० हजार अनुमानित खर्च लाग्ने जानकारी दिए । उनले आइतबारको खेल विराट भेट्रान आयोजक बि. तथा उर्लाबारी भेट्रान बिच हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्