भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने छौ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा पर्ने सबै असजिलोहरूलाई हटाइने बताउनुभएको छ ।

कोशी टप्पु सुनसरीमा आज भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुई पक्षबाटै पहल गरिने बताउनुभयो ।

कोशी प्रदेश सरकारले आगामी २०८२ साल लाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उहाँले भारतको बिहार पश्चिम बङ्गाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने जानकारी दिनुभयो ।

कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँग उहाँले कुराकानी गर्नुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले भारत र नेपालबिचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गर्दै भन्नुभयो । ‘तपाईँ भारतीय सञ्चारकर्मी मित्रहरूले हाम्रो पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकार लागि परेको बताउँदै उहाँले आगामी वर्षदेखि पर्यटन प्रवर्धन र विकासका लागि बजेट पनि वृद्धि गरिने जानकारी दिनुभयो ।

पत्रकारसँगको कुराकानी अघि बसेको मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो । कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्