पानवारीले चुम्यो तेस्रो मच्छिन्द्र फुटबल कपको उपाधि (फोटो फिचर)


तृष्ना कुलुङ राई – केराबारी । तेस्रो मच्छिन्द्र फुटबल कपको उपाधि पानवारी फुटबल क्लब, धरानले चुमेको छ । केराबारी फुटबल क्लबको आयोजनामा केराबारी गाउँपालिका वडा नं.८ स्थित केराबारी रङ्गशालामा शनिवार भएको फाइनल खेलमा चात्या सा फुटबल क्लब, दमकलाई ट्राईब्रेकरमा हराउँदै उपाधि हात पारेको हो ।


शनिवार भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसक्दा ट्राईब्रेकरबाट निर्णय भएको हो । ट्राईब्रेकरमा पानवारीले ४–१ गोलको अन्तरले दमकलाई पराजित गरेको हो ।

पानवारीको तर्फबाट जर्सी नं.८ का दोर्जे तामाङ, जर्सी नं.४ आमस लिम्बु, जर्सी नं.५ विवेक राई र जर्सी नं.३ बेफुरले गोल गर्दै टिमलाई उपाधि दिलाएका हुन । दमकको तर्फबाट जर्सी नं.२५ एकराज बुढाथोकी, जर्सी नं.१४ रोहन कार्की प्रहार असफल भयो भने जर्सी नं.१२ जय गुरुङले मात्र गोल गर्न सके ।

खेलको मेन अफ द म्याच पानवारीका जर्सी नं.८ का खेलाडी दोर्जे तामाङ घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् । विजेता टिमले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.३ लाख नगद पुरस्कार र उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख ५० हजार प्राप्त गरेका छन् ।

उत्कृष्ट प्रशिक्षकमा पानवारीका मचिन्द्र गुरुङ, उत्कृष्ट गोलरक्षकमा जर्सी नं.१६ का खेलाडी रोशन कार्की र वेस्ट डिफेन्समा जर्सी नं.२२ का रोमन लिम्बु घोषित भएका छन् । उनीहरूले जनही रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी जर्सी नं.११ का खेलाडी अर्बिन राई घोषित भएका छन् । उनले रु.२० हजार प्राप्त गरेका छन् ।

त्यस्तै गरी वेस्ट मिडफिल्डरमा दमकका जर्सी नं.१२ का खेलाडी जय गुरुङ, सर्वाधिक गोलकर्तामा जर्सी नं.१३ का हरि कार्की, वेस्ट फरवाड जर्सी नं.७ का यमी घोषित भएका छन् । उनीहरूले जनही रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उदयमान खेलाडीमा आयोजक टिम केराबारी फुटबल क्लबका खेलाडी सुसनबन तामाङ घोषित भएका छन् । तामाङले रु.१० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

वेस्ट भोलेन्टियरमा दिनेश बान्तवा राई घोषित भएका छन् भने खेलको उत्कृष्ट दर्शकमा उत्सव राउतका समूह घोषित भए । उनीहरूले रु.२ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

फोटो फिचर : शिशिर राई

प्रतिक्रिया दिनुहोस्