शिशिर राई – केराबारी । बेलबारी फुटबल क्लब तेस्रो मच्छिन्द्र फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । केराबारी गाउँपालिका वडा नं.८ स्थित केराबारी रङ्गशालामा जारी प्रतियोगिताको सोमबार भएको तेस्रो क्वाटर फाइनलमा बेलबारीले बिर्तामोड युनाइटेट, झापालाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा यात्रा सुनिश्चित गरेको हो ।
बिर्तामोडका जर्सी नं.७ का खेलाडी नीरज कार्कीले खेलको २५ मिनेटमा गोल गरे । तर बेलबारीले पहिलो हफमा गोल फर्काउन सकेन । दोस्रो हाफमा भने खेलको ४८ मिनेटमा बेलबारीका जर्सी नं.८ का खेलाडी मौसम लिम्बुले गोल गरेर बराबरी बनाएका थिए ।
मौसमको गोलले नै टाइब्रेक्ररमा जाने परिस्थिति निर्माण बन्यो । टाइब्रेकर बेलबारीको लागि फँदाई बनेको छ । बेलबारी तर्फबाट जर्सी नं.१२ का खेलाडी आशिस लिम्बु, जर्सी नं.६ का खेलाडी विवेक पौडेलले गोल गरे । तर जर्सी नं.१३ का खेलाडी मिलन लिम्बु र जर्सी नं.१५ का खेलाडी दिवाकर श्रेष्ठको प्रहार भने बिर्तामोडका गोल रक्षक अभिषेक बरालले रोक्न सफल भए ।
बिर्तामोडका तर्फबाट जर्सी नं.१९ का खेलाडी विक्रम तामाङले गरेको प्रहार मात्र गोलमा परिणीत भयो । तर जर्सी नं.६ का दिवस, जर्सी नं.४ का सेवान मगर, जर्सी नं.५ का विशाल दर्जी र जर्सी नं.९ का आशिस चापागाईँको प्रहार असफल भयो ।
खेलको मेन अफ द म्याच बेलबारीका मौसम लिम्बु घोषित भएका छन् । उनले नगद पुरस्कार रु.५ हजार प्राप्त गरेका छन् । भोली चित्लाङ फुटबल क्लब, काठमाडौँ र चात्या सा, दमकबिच प्रतिस्पर्धा हुने केराबारी फुटबल क्लबका अध्यक्ष प्रितम लिम्बुले जनाएको छ ।
विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.३ लाख नगद पुरस्कार र उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु.१ लाख ५० हजार प्राप्त गर्ने छन् ।