सिसिर राई – बेलबारी । कबिर माध्यमिक विद्यालयलाई बेलबारीका युवाहरूले रु.६० हजार ७ सय ५६ सहयोग रकम हस्तान्तरण गरेका छन् । उक्त रकम बेलबारी नगरपालिका वडा नं.२ लालभित्तीमा रहेको कबिर मा.विको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लिम्बुको नेतृत्व टोलीलाई विद्यालयमा नै युवाहरू पुगेर हस्तान्तरण गरेका हुन ।
रकम हस्तान्तरण गर्दै कबिरको गुणस्तर शिक्षा, शिक्षा क्षेत्रको व्यवस्थापन विस्तारको लागि उक्त रकम सहयोग गरेको बेलबारी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सन्दीप राईले बताए । भावी दिनमा पनि आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता समेत राईले गरेका छन् । रकम सङ्कलन गरी हस्तान्तरण गर्न बेलबारीका स्थानीय युवा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सदस्य तथा कोशी नेपालका अध्यक्ष अर्जुन कुलुङ राई, नवीन राई, प्रशिक्षक तथा पूर्व क्रिकेट खेलाडी सुमन पौडेल, बोहेमियन ट्याटु स्टुडियोका प्रोप्राइटर उत्तम लिम्बु, सेसिङगेन लिम्बु विद्यालय पुगेका थिए ।
अध्यक्ष कृष्ण लिम्बुले सहयोग गर्ने युवाहरूलाई धन्यवाद व्यक्त गर्दै उक्त रकम कबिर मा.विका प्रधानाध्यापक अभय लिम्बुका बाल्यकालमा मित्रहरूले सहयोग गरेको जनाए । तिहारमा देउसी भैलो सांस्कृतिक कार्यक्रम गरेर केही आर्थिक सङ्कलन पनि गरेको अध्यक्ष लिम्बुले बताए । उनका अनुसार उक्त सांस्कृतिक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी साथै अभिभावकहरू प्रति सहभागी थिए । कार्यक्रममा सहभागी सबैलाई लिम्बुले धन्यवाद पनि प्रदान गरेका छन् ।
हालसम्म करिब रु.१२ लाख रकम सङ्कलन भइसकेको प्रधानाध्यापक लिम्बुले जनाएका छन् । साथै बेलबारी २ मा रहेको दुईवटा सामुदायिक वनबाट करिब रु.८ लाख सहयोग गर्ने जानकारी पनि प्राप्त भएको उनले बताए । उक्त सङ्कलित रकमले सर्वसाधारण नागरिकले छोराछोरीलाई महँगो शुल्क तिरेर अङ्ग्रेजी भाषामा अध्ययन अध्यापनको लागि बोर्डिङ स्कुल पठाउनु पर्ने बाध्यताको अन्त्य गर्दै गुणस्तरीय शिक्षाको लागि करिबमा लगानी गर्ने प्रधानाध्यापक लिम्बुले जनाएका छन् । १ देखी ९ कक्षासम्म चाडै अङ्ग्रेजी माध्यबाट पठनपाठन सुरु गर्ने उनले बताए ।