केराबारीमा एमालेको दुई दिने प्रशिक्षण सम्पन्न


केराबारी । मोरङको केराबारी गाउँपालिकामा नेकपा एमालेको दुई दिने सैद्धान्तिक÷वैचारिक प्रशिक्षण सम्पन्न भएको छ । नेकपा (एमाले), मोरङ जिल्ला कमिटीअन्तर्गतको स्कुल विभागले दुई दिने प्रशिक्षण सम्पन्न गरेको हो ।

पहिलो दिन केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज पूर्व प्रदेश मन्त्री जीवन घिमिरेले ‘मार्क्सवादी विश्व दृष्टिकोण, दर्शन, सिद्धान्त र व्यवहार’, कोशी प्रदेश सदस्य नरेन्द्र बस्नेतले ‘नेकपा एमाले अबको बाटो’ तथा जिल्ला सचिवालय सदस्य ईरानराईले ‘जबजको सिद्धान्त, नीति र कार्यक्रम’ विषयमा प्रशिक्षण दिएका थिए । दोस्रो दिन जिल्ला उपसचिव तथा स्कुल विभाग प्रमुख सोमराज थापाले ‘सामाजिक न्याय, समावेशीकरण तथा नेतृत्वको व्यवहार’ तथा जिल्ला कमिटी सदस्य ‘सूचना प्रविधिको प्रयोग तथा सञ्चारमाध्यम परिचालन’ शीर्षकमा प्रशिक्षण गरेका थिए ।

जिल्ला अध्यक्ष बाबुराम कार्कीले भर्खरै केन्द्रीय सङ्गठन विभागले काठमाडौँमा सम्पन्न गरेको कार्यशाली गोष्ठीका बारेमा जानकारी दिँदै मोरङ जिल्ला कमिटीले १७ ओटा पालिका कमिटीहरूमध्ये १३ ओटा पालिका कमिटीहरूमा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट एक हजार ५ सयभन्दा बढी कार्यकर्ताहरू प्रशिक्षित भएको जानकारी दिएका छन् । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेत, कोशी प्रदेश कमिटी सदस्य उमेश उप्रेती, जिल्ला उपाध्यक्ष शान्ति भुजेल चेम्जोङ, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ तथा उपाध्यक्ष मनमाया मगरको आतिथ्य रहेको थियो ।

केराबारी गाउँपालिका कमिटीका अध्यक्ष तथा वडा नं. १० का वडाध्यक्ष पूर्ण मगरका अनुसार प्रशिक्षण कार्यक्रममा केराबारी भूगोलमा रहेका जिल्ला कमिटी, गाउँपालिका कमिटी र वडा कमिटीका पदाधिकारी गरी १ सय जनाभन्दा बढी प्रशिक्षार्थीहरू सहभागी भएका थिए । मगरले धन्यवाद पनि प्रदान गरेका छन् । हिमचुली सावउसको कार्यालय, केराबारी गापा–३ मा यही पुस ५ र ६ गते सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीम कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्