धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।
महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुङ्गो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबिच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।
गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा बेवारिसे अवस्थामा शव फेला भेटिएको थियो । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।