बेलबारी । बेलबारी नगरपालिका र केराबारी गाउँपालिका जोड्ने केराबारी-बेलबारी मितेरी झोलुङ्गे पुलको उद्घाटन भएको छ । बेलबारी नगरपालिका वडा नं.१ र केराबारी गाउँपालिका वडा नं.९ को संयुक्त आयोजनामा आइतबार प्रतिनिधि सभा सदस्य सांसद डा.सुनिल शर्माद्वारा पुलको औपचारिक उद्घाटन भएको हो ।
प्रदेश सरकार भौतिक मन्त्रालय पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत कुल लम्बाई १७०.२० मिटरको निर्मित पुलले बेलबारी १ र केराबारी ९ लाई जोडेको छ । यस पुलले दुवै पालिकाका नागरिकको लागि छोटो बाटो निर्माण भएको छ भने केराबारी र बेलबारी आवतजावत गर्न सहज बनाएको छ ।
उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइराला, नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बु, क्षेत्र नं.३ का सचिव राजेन्द्र अधिकारी, लगायत स्थानीयहरू उपस्थित थिए ।
कार्यक्रम केराबारी ९ का वडाध्यक्ष गोपाल राईले सञ्चालन गरेका थिए भने बेलबारी वडा नं.१ का अध्यक्ष मणि मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।