बेलबारी । श्री कबीर माध्यमिक विद्यालयलाई बेलबारी नगरपालिका वडा नं.२ निवासी पोखरेल परिवारले रु.२ लाख १ हजार प्रदान गरेको छ । विद्यालयको अक्षयकोषमा परिवारले उक्त रकम सोमबार कबिर मा.विलाई हस्तान्तरण गरेको छ ।
कबिर मा.वि, बेलबारी २ का प्रधानाध्यापक अभय लिम्बुका अनुसार स्वर्गीय यादवप्रसाद पोखरेलको स्मृतिमा श्रीमती पार्वती पोखरेल, छोराबुहारी पुरुषोत्तम पोखरेल र अनिशा पोखरेल, डा. गणेश पोखरेल र विक्रमा पोखरेल साथै छोरीज्वाइँ जयन्ती पोखरेल र सुवास गुरागाईँद्वारा सहयोग प्रदान भएको हो । विद्यालयको स्थापना कालदेखि नै पोखरेल परिवारले महत्त्वपूर्ण योगदान दिँदै आएको साथै थप आर्थिक सहयोग पाएकोमा लिम्बुले धन्यवाद प्रदान गरेका छन् ।
कबिरमा अनुशासित, लगनशील, जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले रु.२ लाख १ हजार मुलकोष रहने गरी “यादवप्रसाद पार्वती पोखरेल छात्रवृत्ति अक्षयकोष” को स्थापना गरेको प्रधानाध्यापक लिम्बुले जनाएका छन् ।
सोमबारको दिन वार्षिक श्राद्ध पछि भागवत पुराण समापनको अवसर पारेर अक्षयकोषको स्थापना गरेका हुन । साथै पोखरेल परिवारले कबीर माध्यमिक विद्यालयका एक÷एक जना छात्र छात्रालाई जनही रु.२ हजार ५ सय को दरले छात्रवृत्ति पनि प्रदान गरेको छ ।