बेलबारी । मोरङको बेलबारी ६ निवासी एक मगर परिवारले उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शव ल्याउन पाएका छैनन् । बेलबारी नगरपालिका वडा नं.६ का गोविन्द मगरले आफ्नो श्रीमतीको शव उपचार खर्च तिर्न नसक्दा ल्याउन पाएका छैनन् ।
३८ वर्षिया श्रीमती सबिना मगरको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको १२ दिन भइसकेको छ । तर उपचारको क्रममा खरिद गरेको रु.१ लाख ५५ हजार बराबरको औषधी, शय्या तथा शल्यक्रिया खर्च रु.५ लाख ४८ हजार भुक्तानी गर्न नसक्दा सबिनाको शव घर फर्काउन नसकेको गोविन्दका छिमेकी सन्त राई बताउँछन् ।
सन्त राईका अनुसार उपचार खर्च जुटाउन उनीसहित स्थानीय आर्थिक सहयोग सङ्कलन अभियानमा लागेका छन् । अहिले सम्म मात्र रु.८० हजार सङ्कलन भएको सन्तले जनाए । विराट नर्सिङले पनि रु.१ लाख ५० हजार छुट दिने प्रतिबद्धता गरेको सन्तले जनाए ।
स्थानीय साथै बेलबारी नगरपालिकाले उपचार खर्च जुटाउने साथै अस्पताललाई छुटको लागि पहल गरिरहेको छ । नगरपालिकाले पनि रु.१ लाख उपचार खर्च सहयोग गर्ने बेलबारीका मेयर दिलप्रसाद राईले जनाएका छन् ।
सबिना कार्तिक ३ गते बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएर गम्भीर घाइते भएकी थिइन । सबिनाको निधारमा गम्भीर चोट लागे पछि उपचारको लागि उनलाई अस्पताल लगिएको थियो ।