काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि (मङ्गलवार) बयानका लागि रुपन्देही लैजाने तयारी भएसँगै कार्यकर्ता–समर्थकले प्रदर्शन गर्ने भएका छन् । राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि मङ्गलवार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।
सहकारीको रकम अपचलनको आरोपमा प्रहरीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । लामिछानेलाई मङ्गलवार प्रहरीले पोखराबाट रुपन्देही ल्याउने भएपछि रास्वपाले पनि रुपन्देहीमा प्रदर्शन गर्न लागेको हो । यसअघि रास्वपाले पोखरा र काठमाडौँमा प्रदर्शन गरेको थियो ।
रास्वपाका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले सभापति लामिछानेलाई रुपन्देही ल्याउने कुरा सुनिएको बताएका छन् । उनले भने, ‘सभापतिलाई भोलि ल्याउने तयारी गरेको सुनेको छु । ल्याउने÷नल्याउने जे गरे पनि भोलि हामी विरोध गर्ने तयारीमा छौँ ।’
लुम्बिनीका नेता कार्यकर्ताका लागि जारी गरिएको सूचना अनुसार मङ्गलवार बिहान ७ः४५ बजेको उडानबाट लामिछानेलाई पोखराबाट भैरहवा ल्याउन लागिएको छ । भोलि नै बयान सकेर फर्काउने तयारी प्रशासनको रहेको सूचनामा उल्लेख गरिएको छ । लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई बिहान ११ बजे बुटवल पुग्ने गरी हिँड्न सर्कुलर गरिएको छ ।
प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।