भाउन्ने यूथ क्लबद्वारा देउसी-भैलोबाट संकलित रकमले भाउन्ने सडक मर्मतसम्भार


बेलबारी । भाउन्ने यूथ क्लब बेलबारी १० ले देउसी-भैलो खेली संकलित रकमले सडक मर्मत गरेको छ । तिहारमा देउसी-भैलो खेलेर संकलित रकमबाट रमाइलो मात्र गर्ने संस्कारको वृद्धि भइरहेको बेला भाउन्ने यूथ क्लब बेलबारीले भने आफ्नो ठाउँको विकास कार्य तथा संस्था विकासको निम्ति लगानी गरेको छ ।

देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले बेलबारी नगरपालिका वडा नं.१० स्थित भाउन्नेको कालोपत्रे सडकमा भएको खाल्डो पुर्ने कार्य गरेका हो । सङ्कलित रकमबाट साउन्ड बक्स खरिद साथै क्लबको आवश्यक व्यवस्थापन गरी बचेको रकमबाट भाउन्ने सडक खण्डको खाल्डो भई बिग्रेको सडकको कारण धनजनको क्षति नहोस् भनी मर्मतसम्भार गरेको क्लबका अध्यक्ष अमिर मगर बताउँछन् । भत्किएको सडक पुनः कालोपत्रे बन्न समय लाग्ने छ, बेलैमा भत्केको सडकको कारण भविष्यमा हुने धनजनको क्षतिलाई रोक्न देउसी-भैलो खेली भाउन्ने सडक मर्मत गरिएको हो, मगरले भने ।

भाउन्ने यूथ क्लबले तिहार मनाउँदै संस्कृतिको संरक्षणसँगै असल कार्य तर्फको अग्रसरताको एक उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्