केराबारीमा क्रसरको खाल्डोमा डुबेर एकै घरका नाबालक दाजुभाइको मृत्यु


मोरङ । मोरङमा क्रसरको खाल्डोमा डुबेर आज (बिहीबार) एकै घरका नाबालक दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसर परिसरको खाल्डोमा डुबेर दुई नाबालक दाजुभाइको मृत्यु भएको हो । क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईंको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

मृत भेटिएका नाबालकका बुवा तोयानाथ सोही क्रसरमा काम गर्ने गरेको प्रहरीले जनाएको छ । नाबालकहरू क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३ः४० बजेतिर पाएको जनाएको छ । प्रहरी टोलीले सुरुमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको थियो ।

खोजीकै क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शव समेत साँझ त्यही खाल्डोमा भेटिएको प्रहरीले जानकारी दिएको छ । भाइको शव बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ ।

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । दुई नाबालकको मृत्युपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्