सुन्दरहरैँचामा कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता १७ गत्तेदेखि हुने


मणिराम दाहाल – सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित विराटचोकमा राष्ट्रिय युवा सङ्घ नेपाल नगर कमिटीद्वारा कोशी प्रदेश स्तरीय यूथ फुटसल टुर्नामेन्ट हुने भएको छ । सुन्दरहरैँचा नगरपालिका प्रवद्वक रहेको प्रतियोगिता यही असोज १७ देखि १९ गते सम्म वडा नं. १० को प्लानेटमा हुने भएको हो ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट २० टोलीहरूको सहभागिता रहने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका नगर अध्यक्ष भविन पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले प्रतियोगिताको माध्यमबाट राष्ट्रिय युवा सङ्घ नेपालले खेलकुद मार्फत युवा प्रतिभाहरूको पहिचान र विकासमा महत्त्वपूर्ण योगदान पुराउने लक्ष्य राखेको उल्लेख गरे ।

सुन्दरहरैँचामा पहिलो पटक हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगितामा विजेता हुनेले नगद रु.१ लाख १ हजार तथा उपविजनतालाई रु. ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च ७ लाख रहेको बताइएको छ ।

प्रतियोगितामा इलाम ,रतुवामाइ, धनकुटा, दमक, उर्लाबारी, केराबारी, लेटाङ, विराटनगर, झापा, धरान, पथरी, बेलबारी, इटहरी, सुन्दरहरैँचा लगायतको टिम तथा खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

उत्कृष्ट टोलीहरूले आफ्नो कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताले विभिन्न क्षेत्रका युवा खेलाडीहरूलाई एकसाथ ल्याई खेलकुदमा अनुशासन, मिहिनेत र समूहगत कामको महत्वलाई उजागर गर्ने खेल संयोजक तथा राष्ट्रिय युवा सङ्घ जिल्ला इन्चार्ज मनोज राईले बताए । प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ र समापन समारोहमा सङ्गठनका अध्यक्ष क्षितिज थेबे रहने आयोजकले जनाए ।

प्रतियोगिताले युवा खेलाडीहरूको व्यक्तिगत विकासका साथमा एकता र सद्भाव ल्याउनुका साथै उनीहरूको खेलकुद सम्बन्धी ज्ञान र कौशलमा वृद्धि ल्याउने सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशन प्रसाद ढकालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्