पूर्व मुख्यमन्त्री केदार कार्कीले फेरि बसे आमरण अनसनमा


विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले फेरि आमरण अनसन बसेका छन् । कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मङ्गलवार दिउँसो ४ बजेदेखि आमरण अनसनमा बसेका थिए । तर निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कार्कीलाई अनसन स्थलबाटै नियन्त्रणमा लिएर निवास अगाडि पुर्‍याएर छाडेको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङले मङ्गलवार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बुढीगंगास्थित घर छोडेर प्रहरी फर्के लगत्तै कार्कीले पुनः विराटनगरस्थित देवकोटा चोकमा अनसन सुरु गरेका छन् । अनसन बसेको स्थल देवकोटा चोकबाट उठाएर उनलाई प्रहरीले निजी निवास लगे पनि कार्कीले गैरकानुनी काम गरेको भए थुनामा राख्न अन्यथा अनसनमै बस्न दिन माग गरेका हुन् ।

प्रहरीले घरमा लगेर छाड्न खोजे पनि उनी राति ९ बजेतिर निजी सवारी साधनमा अनसन स्थलमै फर्किएका हुन् । तर पहिलाको अनसनस्थल भने प्रहरीले घेरा हालेको छ । ठुलो संख्यामा कार्कीका समर्थक पनि त्यहाँ पुगेका छन् । जसले गर्दा त्यहाँ फेरि झडपको सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्