संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने छ : उपेन्द्र यादव


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने चेतावनी दिएका छन् । आज (शनिवार) जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई ठुला दल नेपाली काँग्रेस र एमालेविरुद्ध बोल्ने साना दलहरूलाई तह लगाउन समानुपातिक प्रणाली हटाउने षड्यन्त्र भइरहेको बताए ।

मुलुकमा सङ्घीयता, समावेशी लोकतन्त्र मधेस आन्दोलनको देन रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘अस्थिरताको नारा दिएर समानुपातिक व्यवस्थालाई हटाउने षड्यन्त्र भइरहेको छ । तर यो हटाउने चेष्टा गरेको खण्डमा मुलुकमा आउने महाभारत रोक्न कसैले सक्दैन ।’

मुलुकमा अस्थिरता समानुपातिक प्रणालीले नभई काँग्रेस, एमाले र माओवादी केन्द्रको स्वार्थ भएको आरोप लगाउँदै उनले भने, ‘तर साना दलमाथि त्यसको आरोप लगाएर, साना दलहरूलाई समाप्त गर्ने योजना चलिरहेको छ । त्यस कारण यसका विरुद्ध एक पटक फेरि सङ्घर्षका लागि हामीले तयारी रहनु आवश्यक छ ।’ विगतका गरेका विभिन्न काण्डहरूलाई ढाकछोप गर्न तथा तस्कर माफियाहरूलाई संरक्षण गर्न काँग्रेस र नेकपा एमाले मिलन भएको यादवले आरोप लगाए

प्रतिक्रिया दिनुहोस्