रमिते डाँडा घुमेर फर्किदा बाइक दुर्घटनामा बेलबारी १ की एक बालिकाको मृत्यु : आमाबुवा घाइते


उर्लाबारी । मोरङ जिल्लाको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा बाइक दुर्घटनामा परी बेलबारी नगरपालिका वडा नं.१ निवासी वर्ष १४ की एक बालिकाको मृत्यु भएको छ । वर्ष ३७ का सुनिल कुमार धिमाल र वर्ष ३५ की चन्द्र माया धिमालकी छोरी सुस्मिनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज शनिवार सुनिल श्रीमती र छोरीसहित रमिते डाँडा घुमेर फर्किने क्रममा दिउसो करिब ३ बजे मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ झण्डे डाँडा स्थित रमिते टाँडि भित्री सडक खण्डमा दुर्घटना भएको हो । सुनिलले कुदाएको बा. २७ प. १८३५ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भई बाटो भन्दा करिब ७० मि. तल झरी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङबाट प्रहरी नायव निरीक्षक पाँचुलाल चौधरीको नेतृत्वको टोलीले घाइतेहरूलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाइएको छ । बाइक चालक सुनिलको दुवै खुट्टामा चोट लागेको छ भने बाइक पछाडि सवार उनको श्रीमती चन्द्रमायाको निधार, दाहिने हात, खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

बाइक पछाडि सवार सुनिलको छोरी सुस्मिनालाई अस्पताल पुराउने साथ मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार सुस्मिनाको दाहिने हातको कोखमा चोट लागेको थियो । बालिकाको शव पोष्टमार्टमको लागि उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्