राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपालद्वारा श्री आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण


बेलबारी । राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशले बेलबारी नगरपालिका वडा नं.३ मा रहेको श्री आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संघको ३५ औँ वार्षिकोत्सवमा आइतबार विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिका वडा नं.३ का अध्यक्ष योगेन्द्र सुवेदीले विद्यालयलाई सहयोग गरेकोमा संघलाई धन्यवाद प्रदान गरेका छन् । उनले भने, ‘श्री आधारभूत विद्यालयमा आधारभूत वर्ग तथा अति विपन्न वर्गका छोराछोरी पढ्छन्, यस विद्यालयलाई सहयोग गर्नु भएको हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

विभिन्न संघ संस्था र व्यक्तिहरूको सहयोगले, विद्यालयले क्रमिक सुधारसँगै विद्यार्थीको संख्या वृद्धि गरिरहेको सुवेदीले बताए । विद्यालयको क्रमिक विकासमा सहयोग दाताहरूलाई सुवेदीले श्रेय प्रदान गरेका छन् । विद्यालयमा गुणस्तरीय शिक्षाको लागि वडा कार्यालयबाट सहयोग तथा निगरानी भइरहेको सुवेदीले बताए ।

राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष हेमराज सुवेदीले संघको बारेमा जानकारी दिँदै, संस्थागत विद्यालयको बढ्दो प्रभावको बेला सामुदायिक आधारभूत विद्यालयलाई छनोट गरेर शैक्षिक सामाग्री वितरण गरेकोमा कोशी प्रदेश कमिटीको सोच र कार्यको प्रशंसा गरे। सुवेदीले प्रदेश कमिटीलाई धन्यवाद पनि व्यक्त गरेका छन् । साथै श्री आधारभूत विद्यालयको विकास तथा प्रगतिको पनि शुभकामना प्रदान गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैँक कर्मचारी संघ नेपाल, कोशी प्रदेशका अध्यक्ष कृष्ण बरालका अनुसार संघले वार्षिक रूपमा खाद्यान्न वितरण, सरसफाइ कार्यक्रम लगायतका विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ । तर आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रमले बढी मोहत्व पाएको अनुभूति भएको अध्यक्ष बरालले बताए ।

८० थान स्कुल ब्याक, कपीकलम लगायतको ५० हजार बराबरको शैक्षिक सामाग्री संघले वितरण गरेको विद्यालयका प्रधानाध्यापक लीला आचार्यले जनाएका छन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँक शाखा कार्यालय उर्लाबारीका प्रबन्धक जोती दाहाल, पथरी शाखाका प्रबन्धक रोशन सुवेदी, पचरुखी शाखाका प्रबन्धक ज्ञानेन्द्र बल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द राज लिम्बुको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्