उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा विनोद न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँ यसअघि विभिन्न समयमा संघको सदस्य, महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
उर्लाबारी चौकस्थित महालक्ष्मी मिल मेशिनरीका सञ्चालक न्यौपानेको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रूपमा लिइएको छ । आगामी भदौमा उद्योग वाणिज्य संघको ३६ औँ साधारण सभा तय भएको छ । राजनीतिक दल इतर खेमाबाट बुधवार पत्रकार सम्मेलन आयोजना गरी उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो ।
विगतमा काँग्रेस निकट प्यानलबाट निर्वाचित हुँदै आएका न्यौपानेले व्यवसायीको साझा उम्मेदवारका रूपमा आफुलाई प्रस्तुत गर्नुभएको छ । उहाँको उम्मेदवारी घोषणालाई उर्लाबारी उवासंघका पूर्व अध्यक्षहरू तेजकुमार रिजाल, प्रेमचन्द बाहेती, कल्याणराज राजभण्डारी, केशव कार्की तथा प्रितम खड्गीले ऐक्यबद्धता जाहेर गरेका छन् ।
पूर्व अध्यक्ष भोलामान श्रेष्ठ अनुपस्थित रहेपनि उहाँको समर्थनपनि न्यौपानेलाई रहेको कार्यक्रममा जानकारी दिइयो । नेपाली काँग्रेस उर्लाबारी नगर समितिले तारामान सेरेङलाई अध्यक्ष पदको आधिकारिक उम्मेदवार तोकेको छ । यद्यपि उर्लाबारी उवासंघमा विगतमा काँग्रेस प्यानलबाटै जितेका पूर्व अध्यक्षहरूले मोर्चा कसेरै न्यौपानेलाई साथ र सहयोग रहने प्रतिबद्धता जनाएपछि काँग्रेसभित्र झाँगिएको स्थानीय गुटगत विवाद सतहमा आएको छ ।
न्यौपानेको उम्मेदवारी घोषणा कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य सचिन शाक्य, काँग्रेस मोरङ जिल्ला सदस्य चन्द्रप्रसाद भट्टराई, स्थानीय काँग्रेस नेता तथा एन्फा केन्द्रीय सदस्य दीपेन्द्र धिमालको पनि उपस्थिति रहेको थियो । यस्तै, व्यवसायी मनोहरी दाहाल, समाजसेवी जनक खड्कालगायतले पनि न्यौपानेको उम्मेदवारीप्रति समर्थन व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष रिजालले उर्लाबारीको व्यापारिक गतिविधि चलायमान बनाउन विनोद न्यौपानेको महत्त्वपूर्ण भूमिका रहेको भन्दै निस्वार्थ व्यक्तिलाई दलको घेराभन्दा माथि उठेर जिताउन आफूहरू लागिपरेको बताउनुभयो । यस्तै, अन्य वक्ताहरूले समेत न्यौपानेले वाणिज्य संघमा विभिन्न पदमा रहेर आफ्नो सफल कार्यकुशलता देखाएको औँल्याउँदै उनलाई जिताउनको लागि आह्वान समेत गरेका छन् । उर्लाबारीमा विनोद न्यौपाने नाम व्यपारीक क्षेत्रमा मात्र नभई शैक्षिक, धार्मिक, खेलकुद एवम् सामाजिक क्षेत्रमा समेत चर्चित नाम हो ।
यस्तै दैनिक रूपमा व्यपारीहरुसँग भेटघाट, छलफल र समन्वय गर्दै आएका न्यौपाने भन्छन्, व्यवसायी साथीहरू सकारात्मक हुनुहुन्छ, यस पटक अवसर दिनुभयो भने विभिन्न कार्ययोजनाका साथ उवासको गरिमालाई अझ उच्च बनाउने गरी काम गर्नेछु व्यवसायीहरूको हक हितको लागि कटिबद्ध भई लागि पर्दै आएका न्यौपाने संघको विपद् कोषलाई वृद्धि गराउने र संघको अधुरा कामहरू पुरा गर्ने मुख्य एजेण्डाका साथ अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताउनु हुन्छ । उहाँले व्यपारीहरुलाई संघमा आबद्ध गराई उनीहरूको सुख दुःखमा साथ दिने र संघलाई आधुनिक प्रविधिमैत्री बनाउने अभियानमा लाग्ने बताउँदै अध्यक्षमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरिएको जानकारी दिनुभयो ।