धिमाल समुदायका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण


बेलबारी । बेलबारीका धिमाल समुदायका विपन्न परिवारका साथै जेहेन्दार १५ जना छात्र, छात्राले छात्रवृत्ति प्राप्त गरेका छन् । धिमाल प्रथम जाति व्यवस्थापन समिति र धिमाल जाति विकास केन्द्र नगर समिति बेलबारीले बुधवार छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरी १५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । बेलबारी नगरपालिकाको सहयोगबाट जनही रु.१० हजार ६ सय छात्रवृत्ति रकम १५ विद्यार्थीलाई प्रदान गरिएको छ । धिमाल जाति विकास केन्द्र बेलबारीको अनुसार नगरपालिकाबाट रु.२ लाख सहयोग भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख दिल प्रसाद राईले बेलबारी नगरपालिकाले सङ्घीय सरकारको सहयोगसहित ५ किसिमको छात्रवृत्ति प्रदान गरिरहेको जनाएका छन् । धिमाल समुदायका विद्यार्थीहरूलाई बेलबारीको प्रथम जाती घोषणा भएसँगै छात्रवृत्ति वितरण भइरहेको राईले बताए । त्यससँगै आदिवासी जनजातिहरूलाई पनि छात्रवृत्ति प्रदान गरिरहेको राईले बताए । बेलबारीका विभिन्न सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने ७४ जनालाई एक वर्षको छात्रवृत्ति शुल्क वितरण गरेको राईले जनाएका छन् । साथै बेलबारी बहुमुखी क्याम्पसमा भर्ना शुल्क नगरपालिकाले तिरिरहेको राईले बताए । कोही पनि आर्थिक अभावको कारण पढ्नबाट वञ्चित नहुन भन्ने उद्देश्यले बेलबारी नगरपालिकाले छात्रवृत्ति प्रदान गरिरहेको र निरन्तर गरिरहने राईले बताएका छन् । कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई पढ्न प्रोत्साहन गर्दै औपचारिक शिक्षालाई व्यवहारिक रूपमा लागु गरे मात्र जीवन सार्थक हुने राईले सन्देश प्रदान गरे ।

धिमाल जाति विकास केन्द्रका सहअध्यक्ष केदार धिमालले छात्रवृत्ति प्रदानको उद्देश्य धिमाल समुदायको जीवन स्तरको विकास वृद्धि रहेको बताएका छन् । धिमाल समुदायको जीवन स्तरको विकास अध्ययन अध्यापनबाट सम्भव हुने केदारले बताए । शिक्षाको महत्वलाई बुझाउँदै केदारले विगतमा शिक्षाको अभावकै कारण धिमाल समुदायका अधिकांश परिवार वर्तमान अवस्था सुकुम्वासी बन्नु परेको बताए । र केदारले भने अनुसार नै विगतमा आफैले बसाएको बस्तीबाट सयौँ बिघा जमिनका मालिक आज धिमाल समुदायका अधिकांश परिवार सुकुम्वासी बन्नु परेको तितो उदाहरण रहेको छ । सोही उदाहरण दिँदै शिक्षाको महत्वलाई बुझाउने कोसिस गर्दै अध्ययन अध्यापनमा गम्भीर हुन उपस्थित विद्यार्थीलाई आग्रह गरेका छन् ।

बेलबारी नगरपालिकाको सहयोगप्रति धन्यवाद प्रदान गर्दै धिमाल समुदायका छोराछोरीको औपचारिक शिक्षाको लागि थप छात्रवृत्ति वृद्धि गर्न धिमाल विकास केन्द्र बेलबारी नगर समितिका अध्ययन शिवनाथ धिमालले आग्रह गरेका छन् । कार्यक्रम धिमाल प्रथम जाति व्यवस्थापन समिति, बेलबारीको अध्यक्ष रुकमणी धिमालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सचिव टिका धिमालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्