सृजना सामुदायिक वन उपभोक्ता समूहको भवन शिलान्यास र वृक्षारोपण कार्यक्रम सम्पन्न


बेलबारी । सृजना सामुदायिक वन उपभोक्ता समूह बेलबारी १० को भवन शिलान्यास र वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आइतबार बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईद्वारा सृजना सामुदायिक वन उपभोक्ता समूहको भवनको शिलान्यास भएको हो ।

भवन शिलान्यास पश्चात् राईले सतिसालको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए । संसारमा बढ्दो जलवायु परिवर्तनको कारण हुन सक्ने प्राकृतिक प्रकोपबाट जोगिन वृक्षारोपण गर्नै पर्ने बताउँदै रैथाने बोट बिरुवाहरू रोप्ने कार्यलाई प्राथमिकता दिन राईले आग्रह गरेका छन् । विगतमा हात्तीको कारण बेलबारीले लाखौँको भौतिक क्षति बेहोरेकोले सुरक्षालाई ध्यान दिँदै बस्ती नजिकको जङ्गल क्षेत्रमा बासको साथै अन्य बोट बिरुवाहरू रोपेर प्राकृतिक बार निर्माण गर्न राईले आग्रह गरेका छन् । उक्त कार्यको लागि नगरपालिकाकाले बिरुवा उपलब्ध गराउने राईले बताए ।

पहिलो चरणमा १० लाख बराबरको सृजना सामुदायिक वन उपभोक्ता समूहको भवनको केही भागको संरचना निर्माण गर्ने अध्यक्ष देउमान सुब्बाले जानकारी दिएका छन् । उनले भवनको संरचना निर्माणमा अनुमानित रकम ४९ लाख लाग्ने बताएका छन् । सो भवन आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरिसक्ने सृजना सामुदायिक वन उपभोक्ता समूहले बताएका छन् । ४ कट्ठामा सतिसालको बिरुवा रोपिएको सुब्बाले बताए । साथै बास रोप्ने योजना पनि रहेको सुब्बाले जनाएका छन् ।

थप समूहको कार्य प्रगतिको विवरण बारे जनाकारी दिँदै सृजना सामुदायिक वन उपभोक्ता समूहको पूर्व समितिले देखाएको करिब रु.२२ लाख ३१ हजार दायित्वमा १९ लाख भुक्तानी गरेको अध्यक्ष सुब्बाले बताएका छन् । कार्यालयमा बोर्ड राख्ने, काटिएको बिजुली रु.२४ हजार तिरेर पुनः जडान गरिएको, कार्यालय रङ्गरोगन र व्यवस्थापन, कार्यालय सामाग्री खरिद, काठ बिक्रीमा बैङ्किङ प्रणाली सुरुवात, सडक बत्ती जडान, बिहीबारे बजारलाई ३ बन्डल टिन जस्तापाता सहयोग, विभिन्न मुटु र मिर्गौला बिरामीलाई आर्थिक सहयोग, भाउन्ने बजारसहित स्थानीय बाटो मरमदसम्भार लगायतको कार्य सम्पन्न गरेको सुब्बाले जनाए ।

प्रतिक्रिया दिनुहोस्