गायकको घरलाई झ्याल जुट्यो


धरान । वरिष्ठ गायक तथा सारङ्गी बादक सुरेश गन्धर्वको घरको लागि तीन वटा आल्मुनियमको झ्याल जुटेको छ । २१ हजार लागत रहने झ्याल व्यक्तिहरूको सहयोगमा जुटेको हो ।

दुवै मृगौला फेल र मुटु रोगी हाल ७० वर्षीय गन्धर्वका “रिङ्केबुङको राँगालाई चुङ्केबुङको चुलेसीले (हाल रमेश प्रसाइले गाएका)” “वारी खोला पारि नि खोला बिचैमा पापी दोभान (हाल उक्त गीत उदय मनिला सोताङले गाएका)” बोलका चर्चित गीतका गायक हुन्, भोजपुरमा जन्मिएर भारतको कालेबुङ, दार्जिलिङ र २०४९ सालदेखि धरानलाई कर्मभूमि बनाएर गीत, संगीत क्षेत्रमा जीवन अर्पण गर्नु भएका गन्धर्वलाई धरान ८ नम्बर वडा कार्यालयले धरान ८ सभागृहमार्ग नमुना बस्तीमा सात धुर जग्गा उपलब्ध गराएको थियो ।

दाताहरूको सहयोगमा निर्माण गरिएको घरको झ्याल आर्थिक अभावका कारण लगाउन नसकेको सुरेश गन्धर्वकी छोरी तारा गन्धर्वले मजदुर नेता भीमज्वाला राईलाई बताएपछि विभिन्न सहयोगदाताको सहयोगमा आल्मुनियम झ्यालको व्यवस्था गरिएको हो । झ्याल खरिदका लागि अमेरिकामा रहनुहुने रोहित अधिकारीले १० हजार र कलाकार दीपक आचार्य काकुले ५ हजार रुपैयाँ सञ्चारकर्मी सन्तोष काफ्ले मार्फत पठाइ दिनुभएको थियो ।

त्यस्तै न्यु धरान आल्मुनियमका प्रोप्राइटर भूपाल साम्पाङबाट प्राप्त ६ हजार रुपैयाँ सहयोगमा झ्याल निर्माण गरिएको हो । घरभित्रका ४ वटा ढोकाहरू लगाउन नसकिएको, अस्थायी पानी र बिजुली चलाइरहेका गन्धर्वको घर निर्माणका बेला लागेको करिब ३ लाख ऋण समेत तिर्न नसकिएको गन्धर्वकी छोरी ताराले बताउनुभयो । घर बनाउँदा करिब ९ लाख खर्च भएको र बुवा बिरामी हुँदा उपचारका लागि विभिन्न दाताहरू मार्फत सहयोग प्राप्त करिब चार पाँच लाख बचेको रकम र ऋण गरेर घर बनाइएको छोरी ताराले बताउनुभयो ।

सुरेश गन्धर्व र छोरी ताराले सहयोग गर्ने सबैलाई भिडियो सन्देश मार्फत धन्यवाद दिनुभएको छ भने घर निर्माण सम्पन्न गर्न थप सहयोगको अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्