एकता बचत तथा ऋण सहकारी संस्थाले ३० औँ स्थापना दिवस मनाए


बेलबारी । एकता बचत तथा ऋण सहकारी संस्था लि, बेलबारीले ३० औँ स्थापना दिवस तथा वार्षिक उत्सव मनाएको छ । संस्थाले बेलबारी नगरपालिका वडा नं.३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले वर्तमान अवस्थामा सहकारीमा देखिएको विकृतिबाट सुरक्षित रहन आग्रह गर्दै सयौँ वर्षै सञ्चालन गर्न शुभकामना प्रदान गरे । सहकारीमा देखिएको ठगी धन्दाबाट सुरक्षित राख्न नगरपालिका गम्भीर रहेको पनि बताए ।

बेलबारीवासी कोही पनि नठगिउन् र कुनै विकृत सहकारीले स्थानीयको मेहनतको पैसा नलुटुन् भन्ने उद्देश्यले बेलबारी नगरपालिका भित्र बाहिरका सहकारी संस्थाको सेवा केन्द्र स्थापना गर्न प्रतिबन्ध गरेको राईले बताए । सहकारी सम्बन्धी ऐन, नियम, सिप, सिद्धान्तको कमी भएमा नगरपालिकाले तालिमहरू गराइरहेको जानकारी गराए । सहकारी संस्थाहरूले पनि सेयर सदस्यहरूलाई सहकारी शिक्षा व्यापक रूपमा प्रदान गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा मोरङ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका इन्दिरा दाहाल भट्टराई, जिल्ला सहकारी सङ्घका उपाध्यक्ष पार्वती बराल, बेलबारी सहकारी नगर सञ्जालका अध्यक्ष दुर्गा गौतम लगायतको उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरूले शुभकामना पनि प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाकी अध्यक्ष मिनु राईको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा मिनुले शुभकामनासहित संस्थाको संक्षिप्त पृष्ठभूमिको जानकारी दिँदै वर्तमान अवस्थासम्म ल्याइपुराउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरिन । कार्यक्रममा उपाध्यक्ष शकुन्तला सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने सचिव चन्द्र लिम्बुले उद्घोषण गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्