धिमाल युवा प्रतिभा पुरस्कार २०८१ बाट नृत्यङ्गना सरस्वती धिमाललाई सम्मान गरिने


उर्लाबारी । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०८१” बाट नृत्यङ्गना सरस्वती धिमाललाई सम्मान गर्ने भएको छ । धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले बेलबारी-१०, माटिगाउँ, मोरङकी सरस्वती धिमाललाई सम्मान गर्ने निर्णय गरेको हो ।

गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाइमा काेरियाेग्राफि गरेर नाम लेखाउन सफल सरस्वती धिमाल एक सफल नृत्यङ्गना हुनुहुन्छ । डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आइकनको उपाधि विजेता उहाँले विभिन्न गीतमा काेरियाेग्राफरकाे रूपमा काम समेत गर्नु भएको छ ।

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समिति नारायण राजदाेङ्गे, शङ्कर धिमाल, पुष्पा धिमाल, पित्तबहादुर धिमाल रहेका थिए । धिमाल जातीय विकास केन्द्रले युवा प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेको महासचिव मातृका धिमालले जानकारी दिनुभयो ।

यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दाे खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएको छ । पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओढाएर सम्मान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्