विश्व वातावरण दिवसको अवसरमा भारतीय भूतपूर्व सैनिक र गेन्थुगद्वारा श्रमदान तथा वृक्षारोपण


बेलबारी । विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी सङ्घ नेपाल बेलबारी र गेन्थुगे बचत तथा ऋण सहकारी संस्था बेलबारीले बेलबारी बहुमुखी क्याम्पसमा श्रमदान तथा वृक्षारोपण गरेको छ । दुवै संस्थाले संयुक्त रूपमा बेलबारी नगरपालिका वडा नं.३ स्थित सुन्दरशान्ति टोलमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा बुधवार श्रमदान तथा वृक्षारोपण कार्यक्रम गरेको हो ।

क्याम्पसको विकासमा टेवा पुराउने साथै प्राङ्गणलाई हरियाली बनाउने उद्देश्यले एक सय सुपाडीको बिरुवा रोपेको सम्पूर्ण भारतीय भूतपूर्व सैनिक एवम् कर्मचारी सङ्घ नेपाल बेलबारीका अध्यक्ष ईश्वर श्रेष्ठले जनाएका छन् । भारतीय भूतपूर्व सैनिकको संरक्षण र एकतासँगै आफ्नो ठाउँमा निर्वाह गर्नु पर्ने सामाजिक दायित्वमा सधैँ अगाडी रहने अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

भारतीय भूतपूर्व सैनिकसँगै आज एकता बचत तथा ऋण सहकारी संस्था बेलबारी, बेलबारी जेसिस लगायत विभिन्न सामाजिक संस्थाहरूले बेलबारी बहुमुखी क्याम्पसमा श्रमदान तथा वृक्षारोपण गरेका छन् । क्याम्पसमा विश्व वातावरण दिवसको अवसरमा मात्र नभएर विभिन्न अवसर वा दैनिक रूपमा स्थानीय व्यक्तिहरू साथै सङ्घसंस्थाले श्रमदान गरिरहेका छन् । क्याम्पसको विकास कार्यमा यो एक अभियान नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्