जसपा नेपाल सरकारबाट बाहिरिने, समर्थन पनि फिर्ता लिने


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । बैठक ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा जसपा नेपाल सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय हुने अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए । आइतबार बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको थियो । आज बस्ने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गरी औपचारिक रूपमा सार्वजनिक गरिने चौरसियाको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’ले आइतबार नै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई राजीनामा गरेर बाटो खोलिदिन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि मधेशमा जसपा नेपाल नेतृत्वको सरकारबाट बाहिरिँदै गठबन्धन घटकको एमाले र माओवादीले समर्थन फिर्ता लिएका छन् । आजको बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुने जसपा नेपालले जनाएको छ ।

गत वैशाख २३ मा उपप्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । अशोक राईसहित सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सात सांसदले जनता समाजवादी बनाएका छन् । अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी दर्ता गरेका हुन् । उनीहरूको दलले निर्वाचन आयोगबाट मान्यता पाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्