बेलबारी नगरपालिकामा स्वास्थ्य सेवाका कार्यक्रमहरू के के छन् ?


बेलबारी । बेलबारी नगरपालिकाको विभिन्न स्वास्थ्य सेवा कार्यक्रम मध्य एक जनता उपचार साहयता कार्यक्रम रहेको छ । जस अन्तरगत २२० जना बिरामीले यस आर्थिक वर्षमा रु.५६ लाख ५२ हजार बराबरको आर्थिक सहयोग प्राप्त गरेका छन् । गम्भीर प्रकृतिका नसर्न रोगका ११६ जना बिरामी र १०४ जना शल्यक्रिया बाहेकका बिरामीलाई उपचारार्थ सहयोग नगरपालिकाले प्रदान गरेको हो ।

जनता उपचार साहयता कार्यक्रमको डाटा हर्ने हो भने यस आर्थिक वर्ष सबै भन्दा बढी उपचारार्थ सहयोग प्राप्त गर्ने क्यान्सरका बिरामी रहेका छन् । बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माका अनुसार मिर्गौला डायलिसिस, स्पाइनल इन्जुरी, प्यारालाइसिस, मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, ब्रेन ट्युमर, हेड इन्जुरी, क्यान्सर लगायतका ११६ जना नसर्ने रोगका बिरामी मध्य ७० प्रतिशत क्यान्सरका बिरामीले उपचारार्थ सहयोग प्राप्त गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा पनि ५५ प्रतिशत क्यान्सरका बिरामीले जनता उपचार साहयता कार्यक्रमबाट सहयोग लिएका छन् । शल्यक्रिया बाहेक साथै गम्भीर रोग नभएका १४६ जनाले १८ लाख १० हजारको उपचारार्थ सहयोग प्राप्त गरेको सन्तोषले जनाएका छन् । सन्तोषका अनुसार गम्भीर प्रकृतिका १४२ जना बिरामीले ५१ लाख २० हजार उपचारार्थ सहयोग प्राप्त गरेका छन् । जस मध्य ८३ जना क्यान्सरका बिरामी रहेको सन्तोषले बताएका छन् ।

दुई आर्थिक वर्षको डाटा हेर्ने हो भने बेलबारीमा विभिन्न अङ्गको क्यान्सर रोगी बढ्दो देखिन्छ । क्यान्सरका बिरामीहरूको बढ्दो सङ्ख्याको कारण के हो भन्ने स्थानीय स्तरमा अध्ययन भने भएको छैन । तर आवश्यक देखिन्छ ।

जनता उपचार साहयता कार्यक्रमसँगै उपमेयरसँग मातृ शिशु कार्यक्रम पनि रहेको छ । सन्तोषका अनुसार यस कार्यक्रम अन्तरगत ७० जना आमाले प्रति रु.५ हजारको दरले रु.३ लाख ५० हजार बराबरको सहयोग प्राप्त गरिसकेका छन् । तर यो सुविधा छोरीको जन्म भए मात्र प्राप्त हुने छ । ३५ दिन भित्र प्रक्रिया पूर्ण गरेर जन्म दर्ता गरे पछि वडा कार्यालयको सिफारिस मार्फत रु.५ हजार प्रदान गर्ने सन्तोष बताउँछन् ।

उपमेयरसँग मातृ शिशु कार्यक्रम बेलबारी नगरपालिका भित्र हुने महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न, स्वास्थ्य संस्थामा हुने प्रसूतिको वृद्धि गरी मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन साथै लिङ्ग पहिचान गरी छोरी भएकै कारण गरिने भ्रूण हत्या बन्द गर्ने उद्देश्यले गरिब तथा सीमान्तकृत समुदायका नागरिकहरूको लागि सञ्चालन गरिएको उपप्रमुख नितु थापा कोइरालाले बताइन ।

दीर्घ रोगीहरूलाई दोस्रो त्रैमासिक सम्म १५१ जनालाई रु.५ हजारको दरले आर्थिक सहयोग प्रदान गरिएको सन्तोषले जनाएका छन् । सो मध्य १५ जनाको मृत्यु भइसकेको उनले बताए ।

बेलबारी नगर अस्पतालमा २०८० फागुन २२ गते बुधवार देखी निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा पनि सुरु भएको छ । बिहान ११ बजेदेखि दिनको ३ बजे सम्म स्त्री रोग सम्बन्धीको विशेषज्ञ प्रत्येक हप्ताको सोमबार, हाड जोर्नी तथा नशा सम्बन्धीको विशेषज्ञ प्रत्येक हप्ताको बुधवार, बालबालिका सम्बन्धी बाल रोग विशेषज्ञ प्रत्येक हप्ताको शुक्रवार, क्यान्सर रोग सम्बन्धीको प्रत्येक महिनाको पहिलो तेस्रो सोमबार विशेषज्ञको स्वास्थ्य सेवा सुचारु रहेको सन्तोषले जनाएका छन् ।

सन्तोषका अनुसार रेडियोलोजिष्ट सम्बन्धी भिडियो एक्स–रे सेवा प्रत्येक दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार बिहान ७ बजे देखि ९ बजेसम्म र मङ्गलवार र बिहीबार दिउसो ३ः३० बजे देखि ५ः०० बजे सम्म बिहान ११ बजेदेखि दिनको ३ बजे सम्म जारी छ । यी सेवाहरूसँगै स्वास्थ्य बिमा, एम्बुलेन्स सेवा, शव-वाहन सेवा लगायतको कार्यक्रमहरू जारी रहेको सन्तोष बताउँछन् । सन्तोषका अनुसार स्वास्थ्य सचेतनाका कार्यक्रमहरू, खोपका कार्यक्रमहरू, वडा वडामा निःशुल्क स्वास्थ्य शिविर लगायतको कार्यक्रमहरू पनि भइरहेको छ ।

१० करोड ५९ लाख बराबरको १५ शय्याको नगर अस्पताल पनि निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्