कानेपोखरीको पन्च कन्या आधारभूत विद्यालयका दुई शिक्षक बिदाइ


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका -४ मा रहेको श्री पन्च कन्या आधारभूत विद्यालयका दुई शिक्षकलाई बिदाइ गरिएको छ । आइतबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो ।

लामो समयसम्म कार्यरत शिक्षक कानेपोखरी -४ निवासी विमला कटुवाल र विद्यालय सहयोगी कानेपोखरी-३ निवासी गंगा प्रसाद सिटौलालाई बिदाइ गरेको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती ईङ्गनाम, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन लामिछाने गुरुङ, कार्यपालिका सदस्य साउनी माझी लगायतले स-सम्मान अबिर माला लगाएर बिदाइ गरेका छन।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष इङ्गनामले सामुदायिक विद्यालयको गुणस्तरलाई वृद्धि गर्नै पर्ने बताइन । विद्यालयको गुणस्तर वृद्धिको लागि विद्यालय व्यवस्थापन समिति, स्थानीय अभिभावकहरू, शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने इङ्गनामले बताइन । पालिकाको तर्फबाट शिक्षा क्षेत्रका भएको लगानीको परिणाम देखिनु पर्ने उनले बताइन ।

आर्थिक अभावमा पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले लगानी गरिरहेको छ । त्यस कारण पनि शिक्षा क्षेत्रको विकासलाई पालिकाले गम्भीरता पूर्वक लिएको देखिन्छ । इङ्गनाम भन्छिन् “सामुदायिक विद्यालय सुधार्न स्थानीय अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहन्छ । समाजका अगुवाले विद्यालयलाई निगरानी राखी पढाई, शिक्षकको व्यवहार र अनुशासनमा दैनिक अनुगमन गरी चुस्त राख्न आग्रह गर्दछु । सरकारी विद्यालयका लगानी हाम्रा छोराछोरीलाई खाडी मुलुक जान मात्र उत्पादन गरे जस्तो देखिएकोमा दुःख लाग्छ । अब साउदी अरब खाडी मुलुक जाने मात्र बनाउने हैन नेपालमै सरकारी जागिर खान सक्ने र राम्रो देश जान सक्ने बनाउनुपर्नेमा जोड पर्छ ।”

इङ्गनामले बिदाइ भएर जाने शिक्षकलाई सफल जीवन र प्रगतिको शुभकामना व्यक्त गरेकी छिन ।

 

प्रतिक्रिया दिनुहोस्