उर्लाबारीमा फेरि अर्को सुन व्यवसायी सम्पर्कविहीन


उर्लाबारी । उर्लाबारीमा एकपछि अर्को गरी सुन पसले ‘फरार’ हुन थालेका छन् । धितो बन्धकीका साथै महँगो ब्याजको लोभमा रकम लगानी गरेका ग्राहकको लाखौँ रुपैयाँ अपचलन गरी सम्पर्कविहीन हुने क्रम रोकिएको छैन ।

पछिल्लो पटक उर्लाबारी ७ स्थित स्कुलडाँडा चौकमा सुन पसल गर्ने एक व्यक्ति परिवारसहित सम्पर्कविहीन बनेको खुल्न आएको छ । स्थानीय केशव सुवेदीको घरको सटर भाडामा लिई न्यु गजमेर सुनचाँदी पसल सञ्चालन गर्ने रोजन गजमेर सम्पर्कविहीन भएका हुन् ।

सर्वसाधारणहरूसँग १८ प्रतिशत ब्याज दिने भन्दै गजमेरले रकम लिने गरेका थिए । ऋण लिने र दिने कारोबार गर्दै आएकोमा पसल नै बन्द गरेर एक साता अघिदेखि गजमेर सम्पर्कविहीन बनेको घर धनी केशव सुवेदीले बताउनुभयो ।

गजमेरको उर्लाबारी ४ मा रहेको एक तले पक्की घर सुनसान र ताला लगाइएको अवस्थामा छ । गजमेरले श्रीमती र बालबच्चा सँगै लिएर हिँडेको अनुमान गरिएको छ । पसलका कालिगढसंग पनि उनको सम्पर्क नरहेको बताइएको छ ।

उनीसँग रकम कारोबार गर्नेहरू दिनहुँ सोधिखोजी गर्दै आउने क्रम बढेको छ । सुन व्यवसायी गजमेरका सम्बन्धमा कसैले जाहेरी भने नदिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्