कानेपोखरी ३ मा ट्रस्ट पुल उद्घाटन


कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ३ मा ट्रस्ट पुल उद्घाटन भएको छ । शुक्रवार पालिका अध्यक्ष राजमती ईङ्गनामले कडिया खोला ट्रस्ट पुलको उद्घाटन गर्नुभएको हो ।

सङ्घीय क्षेत्र विकास झोलुङ्गे पुल कार्यक्रम र कानेपोखरी गाउँपालिकाको संयुक्त लगानी साथै परिवर्तन नेपालको प्राविधिक, सामाजिक र सङ्गठनात्मक सहयोगमा उपभोक्ता समितिद्वारा २३ लाख लागतमा पुल निर्माण सम्पन्न भएको हो । पालिका अध्यक्ष इङ्नामले पुलले विशेष गरी दैनिक विद्यार्थीलाई विद्यालय आवतजावतमा सहजता पुग्ने भए पछि खुसी व्यक्त गर्दै, कानेपोखरीको अन्य स्थानमा पनि पुल निर्माणको आवश्यकता रहेको बताइन । कार्यक्रममा इङ्नामले भनिन “पालिकाले वडाहरुका विभिन्न स्थानमा पुलको माग गरेको थियो तर उहाँहरूको विज्ञ टोलीले स्थलगत निरीक्षण गरी अति आवश्यकतालाई मात्र प्राथमिकता दिनुभएको छ । पक्कै आगामी दिनहरूमा अन्य स्थानको पनि पुल बन्ने पालो आउने छ । अति आवश्यक क्षेत्रमा परिवर्तन नेपाल संस्थालाई सहयोगको लागि पनि अपिल गर्दछु।”

कानेपोखरी गाउँपालिका अति सुगमदेखि बिकट सम्म रहेकोले धेरै ठाउँमा पुलको आवश्यकता रहेको इङ्नामले बताइन । कानेपोखरी ३ कडिया खोलामा ट्रस पुल उद्घाटन कार्यक्रममा परिवर्तन नेपाल संस्थाका अध्यक्ष बल बहादुर बस्नेत, प्राविधिक मनोज कटुवाल, वडा अध्यक्ष गोपाल बहादुर कार्की, स्थानीय लगायतको उपस्थिति रहेको थियो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिना देवी दाहालले औपचारिक रूपमा पुलको उद्घाटन पछि पालिकालाई जिम्मेवारी हस्तान्तरण गर्दै एक जना हेरालुको समेत व्यवस्थापन गर्न आग्रह गरेकी छिन । दाहालले आय-व्यय पनि प्रस्तुत गरिन । कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव माया लिम्बु गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्