निवर्तमान मन्त्री लिम्बूको स्थलगत निरीक्षण !

लेटाङ – ६ नम्बर बुधबारे सडक निर्माणमा चरम लापरबाही


मिलन के राउत – उर्लाबारी । पूर्वोत्तर मोरङको ‘लाइफ लाइन’ मानिएको लेटाङस्थित जिरो पोइन्टबाट निर्माणाधीन ‘कालेबुदुली’ मार्गको निर्माण कार्यमा ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । कानेपोखरी, लेटाङ हुँदै पूर्वी पहाडका ६ नम्बर बुधबारे, दुर्दिम्बा र लिम्बासम्म जोड्ने भएका कारण सो मार्ग कालेबुदुली नामले चिनिन्छ ।

लेटाङको वीपी चौक सुरुवात बिन्दु भई धनकुटाको ६ नम्बर बुधबारेसम्मको २९.६० किमी सडक ठेक्का लागेको छ । पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत ८७ करोड तीन लाख ५३ हजार रुपैयाँ लागतमा सन्तोषी – जोया ब्रदर्श जेभी सुनसरीको फर्ममा निर्माण व्यवसायी भीम पौडेलले लेटाङ ६ नम्बर बुधबारे सडकको ठेक्का हात पारेका हुन् । २०८० वैशाख २८ गते सम्झौता गरेको जेभीले ०८३ वैशाख २८ मा काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।

सो सडक खण्ड निर्माणको प्रारम्भिक चरणमै कमसल सामग्री प्रयोग भइरहेको भन्दै संघीय सरकारका निवर्तमान मन्त्रीसमेत रहनुभएका सांसद डिगबहादुर लिम्बूले आक्रोश व्यक्त गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा बन्दै गरेको महत्त्वपूर्ण आयोजनामा लापरबाही भएको गुनासो आएपछि सांसद लिम्बूसहितको टोलीले लेटाङ – ६ नम्बर बुधबारे सडक खण्डको स्थलगत निरीक्षण गरेको थियो ।

ढुङ्गा भरेको ग्याबिन जाली, रिटेनिङ स्ट्रक्चर र ड्रेन निर्माणमा गुणस्तरहीन र मापदण्ड विपरीत कार्य भइरहेको पाइएपछि सांसद लिम्बूले ठेकेदार कम्पनी र सडकको नियमन गर्ने निकायबिच मिलेमतोमा अनियमित कार्य भएको जनाउनुभयो । निर्माण कम्पनीले नाफा मात्रै चाहेको र नियमनकारी निकायले बेवास्ता गरेका कारण सडक निर्माणकै क्रममा लापरबाही भइरहेको भन्दै लिम्बूले आक्रोश पोख्नुभयो । ग्याबिनमा सानो साइजका कमसल ढुङ्गा र माटो भरेर जाली बाँधिएको, सडक खन्दा निकालिएको ढुङ्गा नै निर्माण कार्यमा प्रयोग गरिएको, सिमेन्टको मात्रा नमिलाई जथाभाबी गिटी मिक्स गरेर ड्रेन निर्माण गरिएको भेटिएको हो । लापरबाही गर्ने ठेकेदारलाई कारबाही गरेर व्यवस्थित संरचनाको निर्माण गराउन आफू लागि परेको सांसद लिम्बूको भनाई छ । निर्माण कम्पनीले चरम लापरबाही गर्दा पनि अनुगमनका निकायले ध्यान दिएका छैनन् लिम्बूले भने।

पूर्वाधार विकास कार्यालय मोरङका कार्यालय प्रमुख डिइ सुशील कुमार श्रेष्ठले सडक निर्माणका क्रममा गुनासो आएजस्तो कमसल सामग्री प्रयोग नभएको दाबी गर्नुभयो । उहाँले नियमित अनुगमन भइरहेको तथा प्रयोगशालामा परीक्षण गरेर निर्माण सामग्रीको प्रयोग भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्