अन्तर कलेज फुटबल : बोर्डिङलाई हराउँदै सामुदायिक विद्यालयको शानदार प्रदर्शन


उर्लाबारी । अतिरिक्त क्रियाकलापहरूमा एकछत्र राज गर्दै आएका बोर्डिङलाई बिस्तारै सरकारी विद्यालयहरूले टक्कर दिन थालेका छन् । मङ्गलवार सम्पन्न अन्तर कलेज फुटबलको फाइनलमा उर्लाबारी २ स्थित सुनपकुवा माविले उर्लाबारीकै अग्रणी निजी विद्यालय पशुपति बोर्डिङ स्कुललाई फराकिलो अन्तरले पछि पार्दै उपाधि हात पारेको छ ।

गत चैत ७ गतेदेखि राधिका मावि उर्लाबारी ६ को प्राङ्गणमा प्रथम उर्लाबारी अन्तरकलेज रनिङ फुटबल प्रतियोगिता आयोजना भएको हो । सुनपकुवाले पशुपति बोर्डिङलाई शून्यका विरुद्ध ३ गोल अन्तरले पछि पार्दै नगद एक लाख राशिको पुरस्कार जितेको हो ।

उपविजेता बनेको पशुपति आमाविले नगद ५० हजार हात पार्यो । पहिलो हाफमै अग्रता लिएको सुपकुवाले दोस्रो हाफमा दुई गोल थप्दै सहज जित निकालेको थियो। खेलमा सुनपकुवाका तर्फबाट बुद्धराज फोम्बो, अन्जन राई र लासङ तामाङले गोल गरेका थिए । यस्तै, सुनपकुवाका लासङ तामाङ उत्कृष्ट फरवार्ड, किशोर राई उत्कृष्ट मीड-फिल्डर, तेन्जिङ तामाङ सर्वोत्कृष्ट खेलाडी तथा सागर श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । पशुपतिका तुनम आचार्य र रामकुमार लिम्बूले क्रमशः उत्कृष्ट डिफेन्स र म्यान अफ दी म्याचको पुरस्कार प्राप्त गरे ।

विजयी टिम र खेलाडीलाई नगद राशिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कलेज स्तरमा रहेका खेलाडीहरूको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्य अनुसार सो प्रतियोगिता आयोजना गरिएको उर्लाबारी फुटबल क्लबका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमालले जानकारी दिए । उर्लाबारी फुटबल क्लबको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा उर्लाबारी भरीका ९ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्