खुनियाकट्टामा दुर्घटना भएको व्यक्तिहरूको पहिचान खुल्यो


मोरङ । मोरङको झोराहाटदेखी दक्षिण खुनियाकट्टामा मङ्गलवार साँझ दुर्घटनामा परेका घाइतेहरूको पहिचान खुलेको छ । बाइक दुर्घटनामा परेका दुई युवाहरू विराटनगर ४ का वर्ष ३३ का युवराज श्रेष्ठ र वर्ष ३७ का महेन्द्र श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सामाजिक सञ्जालमा बाइक र एक व्यक्तिको फोटोसहित ‘मोरङको झोराहाटदेखी दक्षिण खुनियाकट्टामा साँझ दुर्घटना भएको छ । घाइतेले बेलबारी नगरपालिका वडा नं. २ घर बताएका छन् । चिन्नु महानुभावहरूले झोराहाट प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस् ।’ भनी आग्रह गर्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्ति साथै पेजहरूद्वारा स्टाटस पोष्ट भएको थियो ।

उक्त स्टाटस सार्वजनिक भए पछि विशेष गरी बेलबारीका स्थानीय तथा सञ्चारमाध्यममा बढी चासो भएको थियो । फेसबुकको माध्यमद्वारा सहयोग गर्ने अपक्षसहित सबैले फोटोसहित स्टाटसको विवरण सेयर गर्दै पहिचान खुलाउन सहयोगको आग्रह गरेका थिए ।

सहयोग हुने अपेक्षाको साथ कोशी नेपालको अफिसियल फेसबुक पेजमा पनि हामीले पोष्ट गरेका थियौ । उक्त व्यक्तिहरू बेलबारी २ निवासी नभएर विराटनगर ४ को हो भन्ने जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

ग्रामथान गाउँपालिका वडा नं.२ खुन्याकट्टा चौक स्थित घिनाघाट सडक नेताचौकबाट विराटनगर तर्फ जाँदै गरेको को ३५ प ६९७८ नं. को मोटरसाइकललाई साही दिशा तर्फ जाँदै गरेको बा. प्रदेश–०९–०२६ च १९९३ नं. को कारले ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवैलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल लगिएको थियो । दुवै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार योगराजको टाउको र दुवै खुट्टामा चोट लागेको छ भने महेन्द्रको टाउको, दाहिने खुट्टा र ढाडमा चोट लागेको छ ।

मोटरसाइकल, कार र कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । कार चालक धनुषा जनकपुर उपमहानगरपालिका वडा नं.३ निवासी वर्ष ३७ का नेत्र साह रहेको प्रहरीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्