बेलबारीमा बालसंरक्षणको अवस्था, चुनौती र सम्भावना विषयक छलफल कार्यक्रम सम्पन्न


बेलबारी । बेलबारीमा बालसंरक्षणको अवस्था, चुनौती र सम्भावना विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी नाराका साथ बेलबारी नगरपालिकाको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले बेलबारी नगरपालिकालाई बालबालिका केन्द्रित कार्यक्रम अनिवार्य गर्न आग्रह गरेका छन् । राष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारीको सर्वेक्षण अनुसार बेलबारी नगरपालिकाको योजना तथा कार्यक्रममा बिनियोजित बजेटमा बालबालिका केन्द्रित कार्यक्रम ०.१७ प्रतिशत मात्र रहेको छ । बालबालिका केन्द्रित कार्यक्रम बजेट न्यून भएको बताउँदै खोजेको, सोचेको जस्तो बेलबारीको भविष्य निर्माण गर्न सम्भव नहुने गिरीले बताए ।   
बालबालिका केन्द्रित कार्यक्रम प्राथमिकतामा राख्न आग्रह गर्दै पुर्वधार विकासले मात्र बेलबारीको सर्वाङ्गतक विकास हुन नसक्ने गिरीले बताए । संसारमा सबै भन्दा बढी लगानी बालबालिकामा भइरहेको बेला आफ्नै देशमा, प्रदेशमा र पालिकामा बालबालिका प्रति गम्भीर नहुनु भनेको विडम्बना भएको गिरीले बताए ।

बेलबारी नगरपालिकालाई बालमैत्री बनाउने नगर उपप्रमुख नितुले प्रतिबद्धता गरेकी छिन । सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्ने नितुले बताइन । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद् प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले सहजिकरण गरेका थिए ।

अधिकारीले नेपालको कुल जनसंख्यामा बालबालिकाको संख्या ३६ प्रतिशत रहेको बताए । बेलबारीको कुल जनसंख्याको ३३ प्रतिशत बालबालिका रहेको तर बिनियोजित बजेट बालमैत्री नदेखिएको उनले बताए । संघ, प्रदेश र पालिका स्तरमा बालबालिकाको संरक्षणमा लगानी न्यून रहेको बताउँदै सिङ्गो देश, समाज र प्रत्येक परिवार गम्भीर हुनु पर्ने अधिकारीले बताएका छन् । बालमैत्री वातावरण प्रत्येक परिवारबाट नै निर्माण गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका वडा अध्यक्षहरू, शिक्षक, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय बालअधिकार परिषद् पुलचोक, ललितपुर साथै बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, विराटनगरको आयोजना, बेलबारी नगरपालिकाको सहकार्य र एकीकृत हातेमालो समाज नेपाल काठमाण्डौँको समन्वयमा बेलबारी नगरपालिकाकी नगर उपप्रमुख नितु को अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्