बेलबारी । स्ववियुको स्थापना दिवसको अवसरमा स्ववियु बेलबारी बहुमुखी क्याम्पसले लैङ्गिक विभेद तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार बेलबारी वडा नं.३ स्थित सुन्दर-शान्ति टोलमा रहेको बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा स्ववियुले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा शुभकामना प्रदान गर्दै क्याम्पस प्रमुख भूपेन्द्र कोइरालाले स्ववियुको कार्यक्रम र कार्य सम्पादनको प्रशंसा गरेका थिए । ७६ प्रतिशत छात्रा भएकोले बेलबारी बहुमुखी देशकै शान्तिमय क्याम्पस रहेको कोइराला बताउँछन् । लैङ्गिक विभेदको अन्त्य गर्न घरबाट नै परिवर्तनको सुरुवात गर्नु पर्ने कोइरालाले बताए ।
कार्यक्रममा उत्साह र उत्सुकताका साथ विद्यार्थीहरू अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा महिला अधिकारकर्मी तथा अधिवक्ता शोभा बजगााईले सहजीकरण गरेकी थिइन । अभिमुखीकरण कार्यक्रमसँगै उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन गर्दै बेलबारी क्याम्पसका स्वबियु कोषाध्यक्ष कपिल विष्ट र सदस्य नवराज भुजेललाई सम्मान गरिएको छ ।