बेलबारी । बेलबारी नगरपालिकाको सहयोग तथा दलित वर्ग उत्थान समिति बेलबारीको आयोजनामा क्षमता विकास तालिम सम्पन्न भएको छ । फागुन २६ गते देखी सुरु भएको क्षमता विकासको लागि प्रभावकारी भाषण कला तालिम बुधवार बेलबारी ४ स्थित दलित वर्ग उत्थानको संग्राहलय भवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै दलित वर्ग उत्थानको उत्थानको लागि नगरपालिकाको सधैँ सहयोग रहने नगर उपप्रमुख नितु थापा कोइरालाले बताइन । विशेष गरी महिला दिदी-बहिनीहरूलाई प्रोत्साहन गर्दै चुला-चौकामा मात्र सीमित नरहेर सामाजिक, राजनीतिक सबै क्षेत्रमा अग्रसर हुन आग्रह गरिन । संवैधानिक रूपमा अधिकार प्राप्त गरे पनि समाजमा कहीँ कहीँ देखिएको भेदभावको संस्कार अन्त्य गर्न सबै जाती तथा वर्ग अग्रसर हुने पर्ने नगर उपप्रमुख नितुले बताइन ।
जातीय विभेदको अन्त्यसँगै लैङ्गिक विभेद अन्त्य पनि अनिवार्य हुनु पर्ने उनले बताइन । कानुनी रूपमा महिलाहरूले प्राप्त गरेको ३३ प्रतिशत अधिकारको सदुपयोग गर्दै ५० प्रतिशत नै सुनिश्चित गर्नु पर्ने नगर उपप्रमुख नितुले बताइन । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र हस्तान्तरण गर्नुको साथै सिकेका कुरा व्यवहारिक रूपमा कार्यान्वयन गर्न उनले आग्रह गरेकी छिन ।
कार्यक्रममा बेलबारी नगरपालिका वडा नं.४ का अध्यक्ष चन्द्र लिम्बु, नेकपा एमाले बेलबारी नगरपालिकाका सचिव अजित अधिकारी, बेलबारी ४ का पूर्व वडाध्यक्ष राम कुमार किराँती, कानेपोखरी गाउँपालिकाको न्यायिक समिति सदस्य तथा वडा नं.६ को सदस्य दुर्गा माया नेपाली, बेलबारी ३ का वडा सदस्य भोगेन्द्र राई, वडा नं.४ का पूर्व वडा सदस्य अनिसा मोते, महिला नेतृ उसा तामाङ लगायतले तालिम लिएका प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गर्दै समाजमा रहेको जातीय विभेदको अन्त्य सबै मिलेर गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमको अनुभव व्यक्त गर्दै सहयोगको लागि नगरपालिका र आयोजक संस्था दलित वर्ग उत्थान समितिलाई धन्यवाद व्यक्त गरे । तालिम प्रशिक्षक लीलानाथ गच्छदारले प्रदान गरेका हुन । कार्यक्रम दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष खगेन्द्र तोलाङ्गेको अध्यक्षतामा सम्पन्न भएको हो ।