भारतबाट भन्सार छलेर भित्र्याइएको १२ हजार ५ सय किलो चिनी बरामद


भैरहवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले भारतबाट भन्सार छलेर भित्र्याइएको ठुलो परिमाणको चिनी बरामद गरेको छ । सशस्त्रले अवैध रूपमा भित्र्याएर गोदाममा राखिएको अवस्थामा छापा मारेर चिनी बरामद गरेको हो । रुपन्देही सशस्त्र नम्बर २७ गणका डीएसपी दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–५ बुडवा स्थित गोदाममा छापा मारेर साढे सात लाख मूल्य बराबरको १२ हजार ५ सय किलो (२५० बोरा) चिनी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै रुपन्देही सशस्त्रका एसपी आनन्द थापा मगरको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भित्राइएको जुत्ता र चप्पल बरामद गरेको छ । उक्त टोलीले बुटवल उपमहानगरपालिका–१३ झोलुङ्गेपुल क्षेत्रबाट चार लाख मूल्य बराबरको तीन सय ६० जोर जुत्ता र तीन सय ५७ जोर चप्पल बरामद गरेको सशस्त्र नम्बर २७ का गणका डीएसपी मोहन न्यौपानेले जानकारी दिए ।

सशस्त्रले ढुवानीमा प्रयोग गरिएको लु १ च ५७९१ नम्बरको गाडी नियन्त्रणमा लिएको छ भने गाडी चालक रुपन्देही सम्मरीमाई गाउँपालिका–७ बेतकुँईयाका २४ वर्षीय रवीन्द्र यादवलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति, सामग्रीहरू र गाडी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको डीएसपी न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्